एजेन्सी – ग्यारेथ बेल, इस्को र मार्सेलो रियल म्याड्रिडबाट बिदा भइसकेका छन्। लामो समय देखि रियलमा रहेका तीनै खेलाडीले रियलका लागि अन्तिम खेल खेलिसकेका छन् र आफ्नो खेल जीवनको एक अध्याय पूरा गरेका छन्। तीनै खेलाडीले रियलमा रहेर कयौं उपाधि जिते। लालिगा, च्याम्पियन्स लिग देखि क्लब विश्व कप सम्म यी खेलाडीको नाममा रह्यो।
एक हिसाबले भन्नुपर्दा अनुभवी खेलाडी क्रमिक रुपमा रियलबाट बिदा भइरहेका छन्। रियल म्याड्रिडको रूपान्तरण केहि वर्ष देखि जारी छ। रियलमा युवा खेलाडीहरुले एक पछि अर्को स्थानमा जिम्मेवारी सम्हालिरहेका छन्।
तीन खेलाडीले क्लब छाडिसकेको अवस्थामा अन्य खेलाडीहरुले पनि क्लब छाड्न सक्ने सम्भावना देखा परिरहेको छ। ड्यानी सेबालोस, मार्को एसेन्सियो, लुका जोभिक, मारियानो डियाज, जेसस भालेजो र एन्ड्रि लुनिनको रियलमा भविष्य अनिश्चित रहेको स्पेनिस मिडियाहरुको दावी छ। स्पेनिस मिडियाहरुका अनुसार माथि उल्लेखित खेलाडीहरु मध्ये धेरैले समर ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्ने सम्भावना रहेको छ।
खेलाडीहरुको भविष्य अनिश्चित रहँद रियल यति बेला नयाँ खेलाडीहरु भित्र्याउने योजना जुटेको छ। समर ट्रान्सफर विन्डोमा २-४ जना खेलाडी रियलले भित्र्याएमा अचम्म मान्न नपर्ने ट्रान्सफर मार्केटका जानकारहरुको भनाई छ।