एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा नेदरल्यान्ड्सले बेल्जियमलाई पराजित गर्यो। नेदरल्यान्ड्स बेल्जियम विरुद्धको खेलमा ४–१ विजयी भएको थियो।
खेलभर फ्रान्की डि जोङले प्रभावशाली प्रदर्शन गरेका थिए। फ्रान्की डि जोङ क्याटलान क्लब बार्सिलोनाका समेत खेलाडी हुन्। पछिल्लो समय बार्सिलोनामा उनको प्रदर्शन त्यति सन्तोषजनक छैन। तर राष्ट्रिय टोलीका लागि खेल्दा भने उनले आफ्नो छुट्टै रुप देखाए।
बार्सिलोनामा भन्दा राष्ट्रिय टोलीमा भिन्न प्रदर्शन गर्न सकेकोमा उनी खुशी देखिए। खेल पश्चात उनी आफैंले पनि बार्सिलोनामा भन्दा भिन्न खेल्न सकेको बताए। बार्सिलोना भन्दा राष्ट्रिय टोली आफ्नो लागि अनुकुल हुने उनको भनाई छ।
“म यहाँ बार्सिलोना भन्दा धेरै फरक खेल्न सके। मलाई राष्ट्रिय टोलीबाट खेल्दा छुट्टै अनुभव हुन्छ। यो पनि हो कि राष्ट्रिय टोली मेरा लागि बढी अनुकुल हुन्छ।”,फ्रान्की डि जोङले भने।
डि जोङ सन् २०१९ मा बार्सिलोना आइपुगेका हुन्। डच क्लब आयक्समा तहल्का मच्चाएपछि उनलाई बार्सिलोनाले भित्र्याएको थियो। उनका लागि बार्सिलोनाले ७५ मिलियन युरो खर्च गरेको थियो।
बार्सिलोना आएयता भने उनी पहिला जस्तो रहेनन्। बार्सिलोनाका लागि उनले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेका छैनन्। बार्सिलोनाले उनलाई बिक्री गर्ने योजना समेत बनाएको छ।
सबै राम्रो गएको खण्डमा बार्सिलोनाले उनलाई यहि ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ। तर उनी भने बार्सिलोनामै रहने पक्षमा देखिन्छन्। उनले सार्वजनिक रुपमै आफू बार्सिलोनामै रहन चाहेको बताइसकेका छन्।