एजेन्सी – लिभरपुलका दिग्गज मिडफिल्डर जेम्स मिल्नर थप एक सिजन लिभरपुलमा रहने भएका छन्। यहि महिना सम्झौता सकिँदै गरेका उनी थप एक सिजन लिभरपुलमा रहन सहमत भएका हुन्।
मिल्नर लिभरपुलमा एक वर्ष रहन सहमत भएको द एथलेटिकले जनाएको छ। लिभरपुलमा रहनको लागि ३६ वर्षिय मिल्नर पारिश्रमिक कटौती गर्न समेत तयार भएको एथलेटिकको दावी छ।
अन्य विभिन्न क्लबहरुबाट प्रस्तावहरु आएपनि मिल्नरले लिभरपुलमै रहने निर्णय गरेको एथलेटिकको समाचारमा उल्लेख गरिएको छ। मिल्नरका लागि दुई प्रिमियर लिग र एउटा मेजर लिग सकर क्लबबाट प्रस्ताव आएको थियो।
मिल्नर सन् २०१५ मा म्यानचेस्टर सिटीबाट फ्री ट्रान्सफरमा लिभरपुल आइपुगेका थिए। त्यसयता उनले लिभरपुलका लागि झन्डै ३ सय खेल खेलेका छन्। जसमा उनले २६ गोल गर्दै ४४ असिस्ट दिएका छन्।
गत सिजन पनि उनले लिभरपुलका लागि उच्च तहमा रहेर प्रदर्शन गरे। सिजनभर उनले लिभरपुलका लागि ३९ खेल खेलेका थिए। लिभरपुल आएयता उनले ६ उपाधि जितिसकेका छन्। जसमा प्रिमियर लिग, च्याम्पियन्स लिग, सुपर लिग, क्लब विश्वकप, एफए कप र कराबाओ कप छन्।
प्रशिक्षक योर्गेन क्लोप मिल्नरका प्रशंसक रहेका छन्। क्लोपकै कारण लिभरपुल मिल्नरलाई क्लबमा राख्न तयार भएको बताइन्छ। बेलायती मिडियाहरुमा चलेको चर्चालाई मान्ने हो भने मिल्नर खेल जीवन पश्चात प्रशिक्षण पेशामा लाग्नेछन्।