एजेन्सी – एएस मोनाकोका युवा मिडफिल्डर औरेलियन चौआमेनीका लागि यति बेला युरोपका धेरै क्लब प्रतिष्पर्धा गरिरहेका छन्। चौआमेनीका लागि लिभरपुल, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन(पिएसजी) बीच प्रतिष्पर्धा भइरहेको बताइन्छ। तर उनलाई भित्र्याउने दौडबाट लिभरपुल भने बाहिरिएको छ।
पिएसजी र रियल बीच चौआमेनीका लागि प्रतिष्पर्धा बढेसँगै लिभरपुलले हात उठाएको हो। चौआमेनी भित्र्याउन सामान्य भन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था उत्पन्न भएका कारण लिभरपुल ब्याक भएको बेलायती मिडियाहरु बताउँछन्।
अब चौआमेनीका लागि रियल र पिएसजी प्रतिष्पर्धा गर्नेछन्। दुवै पक्षले चौआमेनीका एजेन्टहरुलाई आफ्नो प्रस्ताव बारे जानकारी गराइसकेका छन्। खबरमा आए अनुसार पिएसजी चौआमेनीका लागि १ सय मिलियन खर्च गर्न तयार छ भने रियल ८० मिलियन युरो सम्म खर्च गर्न तयार छ।
चौआमेनीको भविष्यको टुंगो एक साता भित्रै टुंगो लाग्ने ट्रान्सफर मार्केटका जानकारहरु बताउँछन्। चौआमेनीले पिएसजी भन्दा पनि रियल रोज्ने अवस्था रहेको समेत बताइन्छ।
आउने एक साता भन्दा कम समयमै रियलले एएस मोनाकोलाई आधिकारिक प्रस्ताव गर्ने दावी समेत गरिन्छ। रियलले चौआमेनीका लागि अहिले ८० मिलियन युरो दिने र पछि बोनस समेत दिनेगरी एएस मोनाकोसँग कुराकानी अगाडी बढाउन लागेको छ।