माधव-झलनाथ फकाउँदै एमाले, खटिए ओलीका दूत !

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले धेरै ठाउँमा पराजित भयो । त्यसको प्रतिशोध साँध्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अन्तर्घात’को आरोपमा आफ्ना विरोधीहरूमाथि कारबाहीको डण्डा चलाउन सुरु गरेका छन् । यो समाचार दृष्टि साप्ताहिकमा प्रकाशित छ।

एमालेले निर्वाचन हार्नुको मूख्य कारण ओलीको दम्भ हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग भए पनि ओलीले आफ्नो कामजोरी स्वीकार्न नसक्दा एमालेभित्र समस्या उत्पन्न भएको छ ।

स्थानीय तह निर्वाचनमा एमाले पराजयको कारण पार्टी विभाजन नै हो । त्यसैले आगामी मंसिरमा हुने निर्वाचनमा एकीकृत समाजवादी पार्टीलाई मिलाउन सके माओवादीसँग वाम एकता गर्न सकिने एमाले नेताहरूको बुझाइ छ ।

 

कोटेश्वर र खुमलटार स्रोतका अनुसार आगामी निर्वाचनमा एमालेसँग कुनै गठबन्धनको सम्भावना छैन । पाँचदलीय गठबन्धनले नै आगामी निर्वाचनसम्म निरन्तरता पाउने छ । ओलीबाट पटकपटक धोका खाएको र अपमानजनक व्यवहार गरिएकाले पनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै पनि हालतमा एमालेसँग सहकार्य गर्न तयार छैनन् ।

यद्यपि, स्थानीय तह निर्वाचनसम्म आइपुग्दा पार्टीले व्यहोरेको क्षतिलाई आगामी निर्वाचनमा न्युन गर्ने उद्देश्यका साथ एमालेभित्र पार्टी एकता र वाम गठबन्धनका विभिन्न मोडेलबारे छलफल शुरु भएको छ ।

एमाले अध्यक्ष ओलीको सन्देश लिएर नेकपा (एकीकृत समाजवादी)का नेताहरूसँग गोप्य ढंगले भेटघाट गर्ने काममा केही एमाले नेताहरु सक्रिय भएका छन् । यद्यपि, एकता वा गठबन्धनमध्ये कुन मोडालिटीलाई प्राथमिकता दिने भन्नेमा एमाले स्पष्ट छैन ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको स्रोतले दृष्टिलाई बताएको छ । तर, ओली नै पार्टी अध्यक्ष रहिरहने स्थितिमा उक्त प्रस्ताव निरर्थक रहेको दुबै नेताले बताइसकेका छन् ।

ओलीको सन्देश लिएर पटकपटक माधव नेपालको कोटेश्वरस्थित निवासमा पुगेका एमाले नेतालाई अध्यक्ष नेपालले ‘प्रधानमन्त्रीको प्रस्ताव लिएर पार्टी एकता गर्ने भन्नु समयको बर्बादी हो’ भनेर फिर्ता पठाएका छन् ।

सम्मानित नेता खनालले भने पदीय व्यवस्थापनभन्दा एकताका लागि नीतिगत खाका तयार पार्नुपर्ने सन्देश दिएका छन् । खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हिजो के कारण एकता भंग भयो ? यसको छिनोफानो नलगाई आज हत्तपत्त एकता गरौँ भन्नुको कुनै अर्थ हुँदैन । एकता गर्ने मूल्यमा को कति पछाडि हट्नुपर्ने हो ? कसले के–के त्याग गर्न तयार हुनुपर्ने हो ? एकतापछिको पार्टी नेतृत्वको स्थिति के हुने हो ? प्रदेश, जिल्ला र जनसंगठनहरूको स्थिति के हुने हो ? भन्ने विषयमा स्पष्टता नभएसम्म एकताको नाममा कुरा गर्नु एकता नचाहनु जत्तिकै हो ।’

एकीकृत समाजवादीका नेताहरूले एमाले अध्यक्षका रुपमा ओलीको वहिगर्मन, ०७७ पुस ५ र ०७८ जेठ ८ को संसद विघटनको आत्मालोचना र नेतृत्वमा दुबै पक्षका दोस्रो तहका नेताहरू समान व्यवस्थापनलाई बटमलाइन बनाएको छ । तर, अध्यक्ष ओली स्वयं यीमध्ये कुनै पनि विकल्पमा छलफल गर्न तयार देखिएका छैनन् ।

ओलीले माधव नेपाल वा झलनाथ खनालमध्ये एकलाई दोस्रो हैसियतको अध्यक्ष र अर्कोलाई वरिष्ठ नेताको हैसियत दिइने सन्देश पठाएका थिए । उक्त सन्देशलाई दुबै नेताले अस्वीकार गरिसकेका छन् ।

एमाले स्रोतका अनुसार सिंगो एकीकृत समाजवादीसँग एकता हुन नसक्दा पनि उक्त पार्टीभित्रको एउटा पंक्तिलाई एमालेमा फर्काउने रणनीति तय भएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ २४, २०७९१०:४३

लोसपालाई जसरी पनि सरकारमा ल्याउने देउवाको प्लान, मन्त्रालय फुटाउने तयारी !