विश्वका उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी, जसलाई कुनै पनि क्लब सित्तैमा भित्र्याउन सक्छ !

एजेन्सी – सन् २०२१-२२ को सिजन सकिसकेको अवस्थामा अहिले सबैको नजर ट्रान्सफर बजारमा छ। अब युरोपका सबै क्लबहरु उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी भित्र्याउने दौडमा सहभागी हुनेछन्।

समर ट्रान्सफर विन्डो मुख्य ट्रान्सफर विन्डो हो। समर ट्रान्सफरमा नै क्लबहरु बढी खर्च गर्छन्। यो ट्रान्सफर विन्डोमा धेरै खेलाडीहरुले क्लब परिवर्तन गर्नेछन्। यहाँ अहिले मुख्यतः हामी फ्री ट्रान्सफरमा उपलब्ध हुने केहि स्टार खेलाडीहरु बारे चर्चा गर्दैछौँ।

ग्यारेथ बेल

ग्यारेथ बेलको रियल म्याड्रिडको बसाई सकिसकेको छ। रियल म्याड्रिडमा रहेर सबै उपाधि जितिसकेका बेल अब फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। बेललाई भित्र्याउन अब कुनै पनि क्लबले रियललाई रकम तिर्नुपर्ने छैन। गएको केहि वर्ष देखि बेललाई शरीरले त्यति साथ दिरहेको छैन। सन् २०२१-२२ को सिजनमा उनले रियलका लागि ७ खेल मात्र खेल्न पाए। जसमा उनले मात्र एक गोल गरे।

एन्जेल डि मारिया

अर्जेन्टिनी स्टार डि मारिया ७ वर्ष देखि पेरिस सेन्ट जर्मेन(पिएसजी)मा छन्। बेल जस्तै डि मारिया पनि फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। पिएसजीले डि मारियासँग सम्झौता थप नगर्ने स्पष्ट भइसकेको छ। पिएसजीलाई च्याम्पियन्स लिग दिलाउन नसकेपनि उनले फ्रान्समा धेरै घरेलु उपाधिहरु जित्न सके। पिएसजीका लागि कुल २ सय ९५ खेल खेल्दा उनले ९३ गोल गर्दै १ सय १९ असिस्ट दिए। ३४ वर्षिय डि मारिया अझै पनि राम्रो फुटबल खेलिरहेका छन्। जस कारण फ्री ट्रान्सफरमा उनलाई भित्र्याउन धेरै क्लबहरुले प्रयास गर्नेछन्।

उसमान डेम्बेले

फ्रेन्च विंगर डेम्बेलेको भविष्यमा सबैको चासो छ। यहि महिनाको अन्त्यमा बार्सिलोनासँगको सम्झौता सकिँदै गरेका उनी फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। डेम्बेलेलाई क्लबमा अड्याउन बार्सिलोनाले अहिले सम्म पनि प्रयास गरिरहेको छ। पछिल्ला सिजनहरुमा घाइते रहने गरेका उनी सन् २०२१-२२ को सिजनमा भने लयमा फर्किए। यस कारण पनि बार्सिलोना उनलाई क्लबमै राख्न चाहन्छ। तर फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा युरोपका ठूला क्लबहरु पनि उनको पछि लागिरहेका छन्।

पाउलो डिबाला

सन् २०१५ देखि इटालियन क्लब युभेन्टसमा रहेका डिबालाले क्लब छाड्ने निर्णय गरिसकेका छन्। जसकारण उनले युभेन्टससँगको सम्झौता नवीकरण गरेनन्। युभेन्ट्सका लागि कुल २ सय ९३ खेल खेल्दा उनले १ सय १५ गोल गरेका छन्। डिबालाको नाममा ४८ असिस्ट पनि छ। डिबालालाई अब युरोपका जुन सुकै क्लबले सित्तैमा भित्र्याउन सक्नेछन्। डिबालाको यति बेला म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटनह्याम हटस्पर जस्ता प्रिमियर लिग क्लबहरुको नजरमा छन्।

पल पोग्बा

फ्री ट्रान्सफरमा उपलब्ध हुने अर्को ठूलो नाम हो पल पोग्बा। पोग्बाले फ्री एजेन्टको रुपमा म्यानचेस्टर युनाइटेड छाड्न लागेको यो दोस्रो पटक हो। पोग्बा सन् २०१६ मा इटालियन क्लब युभेन्ट्सबाट युनाइटेडमा फर्किएका थिए। त्यसबेला युनाइटेडले पोग्बाका लागि कीर्तिमानी ८९ मिलियन पाउन्ड खर्च गरेको थियो। त्यसबेला उनी युनाइटेडको इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका थिए। पोग्बा युभेन्ट्समा सफल चार सिजन बिताएपछि युनाइटेड फर्किएका थिए। युभेन्ट्समा उनी सिरी ए च्याम्पियन र युरोपका उत्कृष्ट मिडफिल्डर बनेका थिए। युनाइटेड फर्किएपछि भने उनी पहिला जस्तै रहन सकेनन्। उनले अपेक्षा गरिएजस्तो प्रदर्शन नै गर्न सकेनन्।

लुइस सुआरेज

गएको दुई सिजन देखि एट्लेटिको म्याड्रिडमा रहेका सुआरेज पनि फ्री ट्रान्सफरका लागि उपलब्ध छन्। बार्सिलोनाबाट अपमानजनक बहिर्गमन भोगेका उनले एट्लेटिकोलाई सन् २०२०-२१ को सिजनमा लालिगा च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी एट्लेटिकोमा नरहने पक्का भइसकेको छ। उमेरले ३५ वर्ष पुग्दा रफ्तारमा केहि कमि आएपनि टेक्निकल रुपमा सुआरेज धेरै राम्रा खेलाडी हुन्। सुआरेजलाई प्रिमियर लिग क्लब एस्टन भिल्लाले भित्र्याउन चाहेको छ।

प्रकाशित : मङ्गलबार, जेठ २४, २०७९२३:१२

एकै खेलमा टर्कीको आधादर्जन गोल !