एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डच मिडफिल्डर फ्रान्की डि जोङले सार्वजनिक रुपमै आफू बार्सिलोनामै रहन चाहेको बारे स्पष्ट पारिसकेका छन्। केहि समय अगाडी मात्रै डि जोङले थप समय बार्सिलोनामै रहने चाहना रहेको बताएका थिए।
डि जोङको सो भनाई पछि पनि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले उनलाई भित्र्याउने आशा त्यागेको छैन। चर्चित खेल मिडिया ‘गोल’का अनुसार युनाइटेड अझै पनि उनलाई भित्र्याउनेमा आशावादी छ।
सन् २०२१-२२ को सिजनमा अत्यन्तै कम्जोर प्रदर्शन गरेको युनाइटेडको जिम्मेवारी नयाँ सिजनमा एरिक टेन ह्यागले सम्हाल्दै छन्। युनाइटेडलाई सहि ट्रयाकमा डोर्याउन टेन ह्यागले विभिन्न खेलाडी भित्र्याउन चाहेका छन्। उनको प्राथमिकताको सूचीमा डि जोङ रहेका छन्। प्रशिक्षककै कारण युनाइटेडले डि जोङलाई भित्र्याउन सक्दो प्रयास गर्ने गोलको दावी छ।
डि जोङ सन् २०१९ मा बार्सिलोना आइपुगेका हुन्। डच क्लब आयक्समा तहल्का मच्चाएपछि उनलाई बार्सिलोनाले भित्र्याएको थियो। उनका लागि बार्सिलोनाले ७५ मिलियन युरो खर्च गरेको थियो।
बार्सिलोना आएयता भने उनी पहिला जस्तो रहेनन्। बार्सिलोनाका लागि उनले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेका छैनन्। बार्सिलोनाले उनलाई बिक्री गर्ने योजना समेत बनाएको छ। सबै राम्रो गएको खण्डमा बार्सिलोनाले उनलाई यहि ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ।