एकै खेलमा टर्कीको आधादर्जन गोल !

एजेन्सी – टर्कीले युइएफए नेसन्स लिग सी ग्रुप १ मा सानदार जित दर्ता गरेको छ । टर्कीले लिथुआनियामाथि ६–० को सानदार जित निकालेको हो ।

लिथुआनियाको मैदानमा टर्कीको फराकिलो जितमा डुगुकान सिनिक र सेरदर डर्सनले समान दुई गोल गर्दा युनुस एकगन र हालिल डर्भिसोग्लुले समान एक गोल गरे । टर्कीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा चार गोल थपेको थियो ।

भिल्निअस लिथुआनियामा मंगलबार राति भएको एकपक्षीय बनेको खेलको दोस्रो मिनेटमा डुगुकान सिनिकले गोल गर्दै टर्कीले गोलको खाता खोलेको थियो । १४औं मिनेटमा डुगुकान सिनिकले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि टर्की पहिलो हाफमा २–० ले अघि बढ्यो ।

५६औं मिनेटमा सेरदर डर्सनले पेनाल्टीमार्फत गोल गरेपछि टर्की खेलमा ३–० ले अघि बढ्यो । त्यसपछि खेलको अन्तिम १० मिनेटमा टर्कीले तीन गोल थप्दै फराकिलो जित पक्का ग¥यो । ८१औं मिनेटमा सेरदर डर्सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि टर्की फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८९औं मिनेटमा युनुस एकगनले गोल गरेपछि टर्की खेलमा ५–० ले अघि बढ्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हालिल डर्भिसोग्लुले गोल गर्दै टोलीलाई ६–० को सानदार जित दिलाए ।

टर्कीको यो लगातार दोस्रो जित हो । लगातार दोस्रो जितसँगै टर्की ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि लक्जेमवर्ग गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित लिथुआनिया अंकविहीन हुँदै पुछारमा छ । फारोई आइल्यान्डले पनि अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा लक्जेमवर्गले फारोइ आइल्यान्डलाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । ९ खेलाडीमा समेटिएको फारोई आइल्यान्डविरुद्ध लक्जेमवर्गको जितमा जर्सन रोड्रिग्वेसले ७४औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । फारोई आइल्यान्ड ६८औं मिनेटमा १० खेलाडीमा तथा ८०औं मिनेटमा ९ खेलाडीमा समेटिन पुगेको थियो ।

प्रकाशित : बुधबार, जेठ २५, २०७९०८:०२

इंग्ल्यान्डलाई केनले जोगाए !