हैजाको जोखिममा काठमाडौँ, समयमै फोहोर नउठे काठमाडौँभर फैलने !

काठमाडौँ – सडक गल्लीहरूमा करिब महिना दिनदेखि थुप्रिएको फोहोर उठ्न नसक्दा काठमाडौं दुर्गन्धित बन्दै गएको छ। वर्षाको पानीले फोहोर कुहिन थालेको छन। यसबाट सर्वसाधारण बढी प्रभावित भएका छन्। कुनै पनि बेला हैजा फैलिन चेतावनी चिकित्सकले दिइरहेका छन्।

उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका विषयमा राष्ट्रियसभाका सांसले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले काठमाडौंका चोकचोकमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

’फोहोरले नगरमा दुर्गन्ध बढेको छ, अहिले वर्षा भइरहेको छ, उनले भने, ‘यसले हैजालगायत महामारी फैलिन सक्छ। ’फोहोर व्यवस्थापनलाई महानगरको मात्र दायित्वका रुपमा कसैले पनि बुझिदिन नहुने भन्दै उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने सरोकारवाला सबैको उत्तिकै भूमिका रहने बताए।

सांसद जयन्तीदेवी राईले पनि फोहोरको दुर्गन्धका कारण सडकमा हिँड्नसमेत समस्या भएको बताउँदै दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्। ‘दुर्गन्धले सडकमा हिँडन सक्नेसमेत अवस्था छैन,’ उनले भनिन्, ‘गर्मी र वर्षाको यस्तो समयमा महामारी फैलिन सक्छ।’

यसैबीच काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अब फोहोर थुप्रिएर काठमाडौंवासीले दुःख भोग्नु नपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अब फोहोर उठ्नेछ, यो सबैका लागि निसन्देह खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर भएको दुखका लागि क्षमाप्रार्थी छौं।’

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख साहले फोहोर उठ्नु मात्रै यसको समाधान नभएको पनि बताएका छन्। उनले फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहेको पनि उल्लेख गरेका छन्। ‘अब तपाईंहरूले हरेक फोहोरलाई कुहिने र नकुहिने गरी कम्तीमा दुई अलगअलग भाँडोमा राखेर आफ्नो कर्तव्य पूरा गरिदिनुस्, ‘उनले भनेका छन्, ‘यति सहयोग गरिदिए तपाईंहरूले फोहोरबाट दुःख पाउनु हुने छैन।’

प्रकाशित : बुधबार, जेठ २५, २०७९०८:१७

एकसाथ मनसुनसहित तीन वायुको असर, के होला नेपालको मौसममा प्रभाव ?