काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरु लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)सँग एकताका लागि तयार रहेको बताएका छन्। बुधबार जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा यादवले जसपा लोसपासँग एकताका लागि तयार रहेको बताएका हुन्।
लोसपा विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएको खण्डमा पार्टी एकता हुन सक्ने यादवले बताए। फुटेर नभई जुटेर चुनावमा जान लोसपालाई यादवको सुझाव छ। जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जनमत बाँडिदा मधेशी जनतालाई घाटा भएको बताए।
“ओलीको भड्काउमा हिजो जसपाबाट महन्थ ठाकुर नेतृत्वमा एक समूह फुटेर जानु भयो। आज समीक्षा गर्ने समय छ, पार्टी फोडेर कसलाई के फाइदा भयो ? जनमत बाँडिदा मधेशी जनतालाई नै घाटा भएको छ। त्यसैले यो विभाजनको औचित्य म आज देखिरहेको छैन। आउनुस् अहिले पनि समय छ। फुटेर हैन जुटेर अघि बढौं। यदि जुटेर अगाडि बढ्न लोसपाका साथीहरु तयार छन् भने हामी खुला हृदयले स्वागत गर्न तयार छौं।”,यादवले भने।
यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने बताए। साथै उनले चुनाव अघि नागरिकता विधेयक पारित गरि सजहरुपमा नागरिकता वितरणको व्यवस्था गर्न माग समेत गरे। मधेस प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनःनिर्धारण गर्न यादवको माग छ।
उनले भने,”विगत भन्दा अहिले ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि निर्वाचन क्षेत्र हुनुपर्छ, हामी भनिरहेका छौँ, निर्वाचन क्षेत्रलाई पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ।”