माओवादीमा पनि मन्त्री फेर-बदलको चक्कर, जनार्दन शर्मा नै धरापमा !

काठमाडौँ – नेकपा माओवादी केन्द्रमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने आवाज उठेको छ। पार्टी पंक्तिबाट अध्यक्ष पुष्पकमल दाहालमाथि मन्त्री बदल्न चर्को दबाब परेको छ। मन्त्री फेर्ने र नफेर्ने विषयले माओवादीभित्र आन्तरिक विवाद सिर्जना भएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि माओवादी केन्द्रमा पनि यो विषयले प्रवेश पाएको हो। सत्ता गठबन्धनमा आबद्ध अर्को जनता समाजवादी पार्टी (जसपा) नेतृत्वलाई पनि मन्त्री फेर्न दबाब परेको छ। सत्तासीन पार्टीभित्र मन्त्रीका आकांक्षी बढी भएकाले पुराना हटाएर नयाँ बनाउनुपर्ने आवाज उठेको हो।

माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले सरकारमा भइराखेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पालो दिनुपर्ने आवाज पार्टीमा उठेको बताए। ‘नेकपा एकीकृत समाजवादीका साथीहरूले मन्त्री फेर्ने भनेपछि हाम्रोमा पनि बदल्न दबाब परेको छ,’ पुनले भने। पुनका अनुसार अन्य दलमा मन्त्री फेर्न दबाब परेपछि त्यसको असर माओवादीमा पनि परेको हो।

माओवादी केन्द्रबाट मन्त्री भएकाले राम्रो काम नगरेको भन्दै आलोचना हुँदै आएको थियो, छ। विगतमा माओवादीका केही केन्द्रीय सदस्यले पार्टीबाट सरकारमा मन्त्री भएकाले खासै राम्रो काम गर्न नसकेको भन्दै उनीहरूलाई फिर्ता बोलाएर नयाँलाई बनाउनुपर्ने माग नेतृत्वसँग गरेका थिए। तर शीर्ष नेताहरूले त्यसलाई बेवास्ता गर्दै आएका थिए। नेकपा एसले मन्त्री परिवर्तन गर्न लागेपछि माओवादी नेतृत्वलाई पनि त्यसै गर्न दबाब परेको बताइएको छ।

अहिले माओवादीबाट जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरराज गहतराज मन्त्री र बोधमायाकुमारी यादव राज्यमन्त्री छन्। ‘पार्टी अध्यक्षलाई भेटेर केही नेताले मन्त्री परिवर्तन गर्न आग्रह गर्नुभएको छ, कसैलाई सधैं अवसर प्राप्त भइरहेको कसैले अवसर नै नपाएको गुनासो आएको छ’, माओवादी स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार संसदीय निर्वाचन आउन लागेका बेला मन्त्री फेर्दा कार्यकर्तामा राम्रो सन्देश जान्छ।

गठबन्धन सरकार गठन हुँदा माओवादीभित्र मन्त्री बन्न रस्साकस्सी चलेको थियो। त्यतिबेला पार्टी अध्यक्ष दाहालले आलोपालो गर्ने गरी सरकारमा ६ जनालाई पठाएका थिए। त्यसबेला देव गुरुङ, हरिबोल गजुरेल, जयपुरी घर्तीलगायत नेताले मन्त्री बन्ने आकांक्षा देखाएको र उनीहरूलाई पछि पठाउने आश्वासन दिइएको थियो। पार्टीले मन्त्री बदले पहिला आश्वासन पाएकाले मन्त्री बन्ने अवसर पाउने सम्भावना भने निकै कम रहेको स्रोतले जनाएको छ।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९०७:५८

मन्त्रालय फुटाउने तयारीमा देउवा, बढ्ने भयो करोडौं खर्च ! कति ?