एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ४ मा बेल्जियमले सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा बेल्जियमले पोल्यान्डमाथि ६–१ को सानदार जित हात पारेको हो ।
ब्रसेल्समा बुधबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा लियान्द्रो ट्रोससार्डले दुई तथा एक्सेल विस्टेल, केभिन डि ब्रुएना, लिन्डर डेन्डनकर र आइकोमा लोइस ओपेन्डाले गोल गरे । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो ।
पहिलो हाफ १–१ गोलको बराबरीमा रहँदा दोस्रो हाफ बेल्जियमले पुरै आफ्नो नियन्त्रणमा राख्दै ५ गोल गरेर सानदार जित निकाल्न सफल भयो । खेलको २८औं मिनेटमा सेवास्टिएन सेमाएस्कीको पासमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बेल्जियम खेलमा पछि परेको थियो ।
४२औं मिनेटमा एक्सेल विस्टेलले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए । दोस्रो हाफ भने बेल्जियमले आफ्नो पक्षमा पार्न सफल भयो । ५९औं मिनेटमा कप्तान इडेन हाजार्डको पासमा केभिन डि ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए ।
७३औं मिनेटमा मिचे बात्सुयाईको पासमा परिवर्तित खेलाडी लियान्द्रो ट्रोससार्डले गोल गर्दै बेल्जियमलाई ३–१ ले अघि बढाए । ट्रोससार्ड ६६औं मिनेटमा हाजार्डको स्थानमा आएका थिए । ८०औं मिनेटमा यान्निक कारास्कोको पासमा ट्रोससार्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बेल्जियम सहज जिततर्फ अग्रसर बन्यो ।
८३औं मिनेटमा लिन्डर डेन्डनकरले युरी टिलेमान्सको पासमा गोल गर्दा बेल्जियम ५–१ ले अघि बढ्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अर्का परिवर्तित खेलाडी आइकोमा लोइस ओपेन्डाले अर्का परिवर्तित खेलाडी थोर्गन हाजार्डको पासमा गोल गर्दै टोलीलाई सानदार पूनरागमन जित दिलाए ।
लोइस ओपेन्डा ८४औं मिनेटमा मिचे बात्सुयाईको स्थानमा तथा थोर्गन हाजार्ड टिमोथी कास्टाग्नेको स्थानमा मैदान प्रवेश गरेका थिए ।
पहिलो जितसँगै बेल्जियम दुई खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित पोल्यान्ड ३ अंक जोडेरै तेस्रो स्थानमा रहेको छ । यो समूहमा वेल्सले अंकको खाता खोल्न सकेको छैन । नेदरल्यान्ड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा नेदरल्यान्डले लगातार दोस्रो जित निकाल्ने क्रममा वेल्सलाई २–१ ले पराजित गरेको छ । नेदरल्यान्डको जितमा टिउन कुपमेइनर्स र ओउट वेगह्रस्टले गाल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काए ।

