ब्राजिलियन फरवार्डका लागि चेल्सी र पिएसजी बीच प्रतिष्पर्धा, मूल्य सुन्दा लाग्न सक्छ अचम्म !

एजेन्सी – पेरिस सेन्ट-जर्मेन(पिएसजी) र चेल्सी बीच प्रिमियर लिग क्लब एभर्टनका युवा फरवार्ड रिचार्लिसनका लागि प्रतिष्पर्धा हुने भएको छ। यहि समर ट्रान्सफर विन्डोमा क्लब परिवर्तनको सोचमा रहेका रिचार्लिसनका लागि पिएसजी र चेल्सी प्रतिष्पर्धा गर्ने भएका हुन्।

विभिन्न बेलायती मिडियाहरुका अनुसार रिचार्लिसन एभर्टन छाड्ने निर्णयमा पुगेका छन् र उनी च्याम्पियन्स लिग खेल्ने क्लबबाट खेल्न चाहन्छन्। यस्तोमा उनलाई भित्र्याउन पिएसजी र चेल्सी अगाडी आएका छन्। दुवै क्लब उनलाई भित्र्याउन इच्छुक देखिएको ट्रान्सफर मार्केटका जानकारहरु बताउँछन्।

२४ वर्षिय ब्राजिलियनले सन् २०२१-२२ को सिजनमा राम्रो प्रदर्शन गरेका थिए। उनकै प्रदर्शनका कारण एभर्टन रेलिगेसनबाट जोगिएको थियो। सिजन भर उनले ३३ खेल खेल्दा ११ गोल गरे। उनको नाममा ५ असिस्ट पनि छ।

स्पेनिस खेल मिडिया फिचाजेसका अनुसार दुवै क्लब रिचार्लिसनलाई भित्र्याउन चाहन्छन्। रिचार्लिसनलाई भित्र्याउन चाहने क्लबले ७५ मिलियन युरो सम्म खर्च गर्नु पर्ने अवस्था रहेको छ। प्रतिष्पर्धा बढेको खण्डमा सो मूल्य थप बढ्न पनि सक्छ।

पिएसजीका निवर्तमान निर्देशक लियोनार्डोले गत ट्रान्सफर विन्डोहरुमै रिचार्लिसनलाई भित्र्याउने प्रयास गरेका थिए। पिएसजीले उनलाई एम्बाप्पेको प्रतिष्थापनको रुपमा समेत हेरेको थियो। तर अहिले अवस्था फेरिएको छ। एम्बाप्पे पिएसजीमै रहने भएका छन् र क्लबले खेल निर्देशक पनि परिवर्तन पनि गरेको छ। यस अवस्थामा पनि पिएसजीले रिचार्लिसनलाई भित्र्याउन खोजिरहेको छ।

त्यस्तै चेल्सीलाई पनि एक अब्बल स्ट्राइकर चाहिएको छ। गत सिजन इन्टर मिलानबाट आएका रोमेलु लुकाकुले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि चेल्सी रिचार्लिसनलाई भित्र्याउने तर्फ अगाडी बढेको हो।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९१५:०७

पीएसजी प्रशिक्षक बन्न कतार उडे जिदान, पोचेटिनो वर्खास्त हुने !