सुध्रिएनन् ओली, सुध्रिन आग्रह गर्नेलाई उल्टै कारबाहीको ‘डन्डा’ !

काठमाडौं । स्थानीय तहको निर्वाचन र जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित परिणाम नल्याए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बदलिएको छैन । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् ।

‘गठबन्धन टुटाउन बल गर्नु पर्यो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्’ शुक्रबार विराटनगर पुगेका ओलीले भने, ‘साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’

स्थानीय तहको निर्वाचनमा गत निर्वाचनभन्दा यो निर्वाचनमा एमालेको जित संख्या निकै घटे पनि उनले एमालेसँग असाधारण शक्ति रहेको दाबी गरे । उनले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि जिकिर गरे । पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको उनको टिप्पणी छ ।

‘आफ्नो गठबन्धनभित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईंहरूले’ उनले भने, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मरकम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै उनले कटाक्ष गरे ।

दुई÷दुईपटक संविधानविपरीत संसद् विघटन गरेका ओलीले आफूले गरेको संसद् विघटनको बचाउ गर्दै संसद् विघटन प्रतिगमन नभएको दाबी गरे । उनले कसैले प्रतिगमन भन्यो भने मुखमा औंला ठड्याएर विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

पार्टीभित्रै नेतृत्वले आफ्नो कमीकमजोरी सच्याउन नेताहरूबाट सुझाव आएको भए पनि ओली आफ्नो कमीकमजोरी सच्याउन तत्पर नभई उल्टै ढाकछोप गरेर हिँड्ने गरेका छन् । स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी नेतृत्व सच्चिनुपर्ने आवाज उठाउँदा ओलीले उल्टै कारबाहीको ‘डन्डा’ चलाउन खोजेका छन् । पार्टी विभाजनअघि र अहिले पनि ओलीको शैली केही नफेर्रिएको एमालेकै नेताहरू बताउँछन् ।

प्रकाशित : शनिबार, जेठ २८, २०७९०८:३२

जसपामा फेरि किचलो, पार्टी फुटाउनेसम्मको तयारी !