काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)मा एक महिनाका बीचमा चारवटा ‘हातपात’देखि ‘दुव्र्यवहार’का घटना भएका छन् । बिहीवार स्थानीय विकास मन्त्री राजेन्द्र श्रेष्ठलाई कार्यकक्षमा नै सोही पार्टीका सांसद रामबाबु यादवले गरेको ‘दुव्र्यवहार’को घटनादेखि एक महिनाका बीचमा चारवटा घटना भएका छन् ।
‘मन्त्रीज्यूलाई मैले योजना दिएको थिएँ, किन पारिदिनु भएन भनेर त्यही विषयमा चर्काचर्की भएको हो, अरु केही भएको होइन,’ सांसद रामबाबु यादवले भने । सांसद यादवले सो भने पनि मन्त्रालयमा ‘लफडाबाजी’ भएपछि मन्त्री श्रेष्ठले बारा–३ मा झोलुङ्गे पुल, साना सिँचाइ आयोजना र साना कल्भर्ट बनाउने प्रतिवद्धता जनाएका थिए ।
‘तीन दिनभित्र मेरो मागअनुसारका आयोजनालाई समावेश गर्ने मन्त्रीज्यूले भन्नुभएको छ, हुन्छ कि हँुदैन ? म प्रतिक्षा गरिरहेको छु,’ यादवले भने । यो घटनासँगै जसपा नेपालमा यसअघि पनि तीनपटक ‘कुटपिट’सम्मका घटना भएका छन् । जसका बारेमा जसपा नेपालमा छानबिन भइरहेको नेताहरूले बताएका छन् ।
गत २५ जेठमा अध्यक्ष उपेन्द्र यादव उपस्थित कार्यक्रममा सम्बोधन गर्दै गर्दा सबैला नगरका अध्यक्ष बैद्यनाथ रायलाई मुक्का प्रहार गरेका थिए । उनले केन्द्रीय सदस्य साधु रायले अन्तर्घात गरेको अभिव्यक्ति दिएलगतै साधुका समर्थकहरुले मुक्का प्रहार गरेका हुन् । सो क्रममा जितेन्द्र मुखिया, अबध किशोर यादव र सिकिन्दर सिंहलगायतलाई सामान्य चोट लागेको थियो ।
स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा गत ११ वैशाखमा होटल राजदरबार, जनकपुरमा बसेको बैठकमा केन्द्रीय कार्यकारिणी सदस्य गजाधार रोहिता यादवलगायत घाइते भएका थिए । गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवलाई टिकट नदिने बताए पछि उनका आक्रोशित समर्थकहरुले हातपात गर्दा १० जना घाइते भएका थिए ।
सो बैठकमा भौतिक पूर्वाधार मन्त्री रेणु यादव र प्रदेशका आर्थिक मामिला तथा योजना मान्त्री शैलेन्द्र साहलगायतसमेत उपस्थित थिए । बैठकमा हातपात भएपछि मन्त्रीद्वय बाहिरिएका थिए ।यसैबिच केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादव र उनका समूहले गत १५ जेठमा बालकुमारीस्थित केन्द्रीय कार्यालयमा अर्का केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीमाथि हातपात गरेका थिए ।
-सौर्य दैनिकबाट

