एजेन्सी – लिड्स युनाइटेडका काल्भिन फिलिप्सलाई भित्र्याउने लिभरपुलको योजनामा असफल हुने भएको छ। फिलिप्स भित्र्याउने दौडमा म्यानचेस्टर सिटीको इन्ट्री भएसँगै लिभरपुलको योजना असफल हुने भएको हो।
पत्रकार मिगुएल डेलानीका अनुसार फिलिप्सलाई लिभरपुलले गएको केहि समय देखि पछ्याइरहेको छ। तर उनलाई सिटीले पनि भित्र्याउन चाहेको छ। सिटीले फिलिप्सलाई लिभरपुल भन्दा धेरै राम्रो अफर दिएको छ।
यस अगाडी लिभरपुल औरेलियन चौआमेनी भित्र्याउने दौडमा थियो। मिडफिल्डलाई बलियो बनाउन औरेलियन चौआमेनी भित्र्याउने प्रयास गरेपनि चौआमेनीले रियल म्याड्रिड जाने निर्णय गरिसकेका छन्।
पत्रकार डेलानीका अनुसार फिलिप्सलाई पनि लिभरपुलले गुमाउनेछ। उनी लिभरपुल भन्दा पनि सिटी जाने सम्भावना उच्च रहेको दावी गर्छन्। रहिम स्टर्लिङ र बर्नार्डो सिल्भा जस्ता खेलाडीहरुले क्लब छाड्ने सम्भावना देखिँदा फिलिप्स सिटी जान सक्ने डेलानीको भनाई छ।
प्रिमियर लिगमा गएको झन्डै पाँच सिजन देखि लिभरपुल र सिटी प्रतिष्पर्धा गरिरहेका छन्। एक अर्कालाई टक्कर दिन दुवै क्लबहरुले समर ट्रान्सफर विन्डोमा खेलाडी थप्ने रणनीति लिएका छन्।
सिटीले युवा स्टार एर्लिङ हालाण्डलाई भित्र्याइसकेको छ। त्यस्तै लिभरपुलले पनि बेन्फिकाका युवा स्टार डार्विन नुनेजलाई भित्र्याउने प्रयास गरिरहेको छ।