दीपिका-कङ्गना-तापसी-आलिया-विद्या : हिरोभन्दा दुईगुणा अगाडी छन् यी हिरोइन, लिएनन् कसैको सहारा

काठमाडौँ : लैङ्गिक समानताका जतिसुकै चर्चा भए पनि भारतीय सिनेमा उद्योग ‘बलिउड’ मा पुरुषकै राज चल्छ। महिला निर्देशकहरु औँलामा गन्न सकिन्छन्। हिरोइनको भन्दा हिरोको पारिश्रमिक कैयौं गुणा बढी छ। बक्स अफिसमा हिरोइनको फिल्मभन्दा हिरोको फिल्मले राम्रो ओपनिङ गर्छ। दर्शकहरु पनि महिला-प्रधान फिल्मभन्दा पुरुष प्रधान फिल्महरुलाई बढी मन पराउँछन्। त्यसैले एक हिसाबले दर्शक पनि दोषी देखिन्छन्। तर पछिल्लो १०-१५ वर्षमा बलिउडका हिरोइनहरुका हैसियतमा धेरथोर भिन्नता आएका छन्। यो भिन्नता थोरै भए पनि यसलाई सकारात्मक मान्न सकिन्छ। आगामी दिनमा यो स्थितिमा थप सुधार आउने सम्भावना छ। पछिल्ला केही वर्षमा यस्ता हिरोइनहरू पनि देखा परेका छन् जसले उत्कृष्ट फिल्म मात्रै गरेनन् बक्स अफिसमा पनि सफलताको अमिट छाप छोडेका छन्। यो काम उनीहरुले आफ्नै बलबुतोमा गरेका हुन्। उनीहरुले कुनै पनि पुरुष स्टारको बैशाखी टेकेर लाभ उठाएका हैनन्।

तापसी पन्नू (Taapsee Pannu) : – 

तापसी पन्नुको फिल्मोग्राफी हेर्दा गर्व गर्न सकिन्छ। गर्व, मुल्क, बदला, सूरमा, थप्पड, हसीन दिलरूबा, रश्मि रकेट, साँड की आँख, लूप लपेटा जस्ता फिल्महरु तापसीको उत्कृष्ट जीवन्त अभिनयले सजिएका छन्। यीमध्ये केही चलचित्रले बक्स अफिसमा राम्रो व्यापार पनि गरेका छन्। हसीन दिलरुबा सन् २०२१ मा नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको हिन्दी चलचित्र थियो। यी फिल्महरूमा तापसीसँग कोही ठूला स्टार वा बिकाउ स्टार छैनन्। तापसीले सशक्त भूमिका पाईन् र त्यसको उनले भरपूर फाइदा उठाएकी छिन्। अहिले दमदार हिरोइनको कुनै भूमिका चाहिएमा निर्देशकले सर्वप्रथम तापसीलाई नै सम्झिन्छन्।

आलिया भट्ट(Alia Bhatt) : – 

आलिया भट्ट स्टार हुनुका साथै शानदार कलाकार पनि हुन्। उनी एकातिर घोर कमर्सियल फिल्महरु गर्छिन् भने अर्कोतिर अफ-बिट फिल्महरु पनि गर्छिन्। राजी, गंगुबाई काठियावाडी, गली ब्वाई, डियर जिन्दगीमा आलियासँग स्टार पनि थिए तर आलियाको भूमिका पनि कम थिएन। यी फिल्महरु सफल पनि भए। गंगुबाई काठियावाडीको सफलताले आलियाको कदलाई थप उँचो बनाएको छ। उनले आफ्नै दममा फिल्म चलाउन सक्छिन् भन्ने प्रमाणित गरेकी छिन्।

दीपिका पादुकोण(Deepika Padukone) : – 

दीपिका पादुकोणले आफ्नो करियरको सुरुवातमा मसालेदार फिल्महरूमा महत्वहीन भूमिकाहरु पनि निभाएकी थिईन्। तर एक पटक स्थापित भएपछि उनले ठूला बजेटका फिल्महरूमा सशक्त भूमिका निभाएकी थिइन्। पिकु, बाजीराव मस्तानी, पद्मावत, छपाक र गहराइयामा दीपिकाको भूमिका एक-अर्कामा एकदमै फरक छ। बाजीराव मस्तानीमा राजकुमारीजस्तै देखिएकी उनले छपाकमा एसिड आक्रमण पीडितको भूमिका निर्वाह गरेकी थिइन्। गहराइयामा उनको फरक शैली देखिएको छ। पारिश्रमिकको मामिलामा पनि धेरै अगाडी छिन्। अहिले धेरै ठूला चर्चित पुरुष स्टारले उनले जति पारिश्रमिक पाउँदैनन्।

कङ्गना रनौत(Kangana Ranaut) : – 

विवादास्पद बयानहरु दिएर चर्चामा आइरहने अभिनेत्री कङ्गना रनौतले आफ्नो अभिनयको दममा सफलता पाउन सकिने प्रमाणित गरिन्। चर्चित स्टारहरूले कङ्गनासँग सधैं दुरी कायम राखे पनि कङ्गनालाई कामको कुनै कमी भएन्। क्वीन, रिभोल्भर रानी, तनु वेड्स मनु सीरिज, पङ्गा, थलाइवी, मणिकर्णिका, सिमरन जस्ता फिल्महरुमा कङ्गनाको अभिनय हेर्नलायकको छ। यीमध्ये केही फिल्म सफल भए भने केही असफल भए। अहिलेसम्म कसैले पनि कङ्गनाको अभिनय क्षमतामा प्रश्न उठाएका छैनन्।

विद्या बालन(Vidya Balan) : – 

विगत दश-बाह्र वर्षको कुरा गर्ने हो भने विद्या बालनले महिला-प्रधान फिल्महरुलाई अगाडी बढाउँन् महत्वपूर्ण योगदान दिएकी छिन्। इश्किया, नो वन किल्ड जेसिका, द डर्टी पिक्चर, कहानी जस्ता चलचित्रको सफलतापछि निर्माताले नायिका प्रधान फिल्म बनाउन चासो देखाए। तीन, बेगम जान, तुम्हारी सुलू, शन्कुतला देवी, शेरनी जस्ता उम्दा फिल्महरु पनि विद्या बालनको पोल्टामा छन्। विद्या अहिले पनि यस्तै चलचित्रमा सक्रिय छिन् ।

प्रकाशित : शनिबार, जेठ २८, २०७९१६:५३

मेहेन्दीमा यस्ती देखिइन् इन्दिरा ! [तस्विर सहित]