एजेन्सी – इन्ज्युरी समयमा फरवार्ड मेम्फिस डिपाए पेनाल्टीमा चुक्दा नेदरल्यान्ड्स युइएफए नेसन्स लिग ए ग्रुप ४ मा पोल्यान्डविरुद्ध जितबाट वञ्चित बनेको छ ।
२–० ले पछि परेको नेदरल्यान्ड्सले पूनरागमन गेपनि डिपाएले पेनाल्टी चुकाउँदा खेल २–२ गोलको बराबरीमा सकिएको हो । फेइजेनुर्डमा शनिबार राति भएको खेलमा पोल्यान्डका म्याटी कास र पिओटर जिलेन्स्कीले गोल गर्दा घरेलु टोलीका डेभी क्लासेन र डेन्जेल डेम्फ्रेजले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १८औं मिनेटमा म्याटी कासको गोलबाट पोल्यान्डले सुरुवाती अग्रता लिएको थियो । उनले निकोला जलेवक्सीको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफको शुरुमै ६ मिनेटको अन्तरमा ३ गोल सम्भव हुँदा नेदरल्यान्डले बराबरी गोल फर्काउन सफल भयो ।
४९औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्यान्ड खेलमा २–० ले अघि बढ्यो । तर, पोल्यान्डले त्यो अग्रतालाई जोगाउन सकेन । ५१औं मिनेटमा डेभी क्लासेनले गोल गर्दै डच टोलीलाई खेलमा फर्कने संकेत दिए । उनले डाले ब्लिन्डको पासमा गोल गर्न सफल भएका थिए । ५४औं मिनेटमा डेन्जेल डम्फ्रेजले मेम्फिस डिपाएको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डिपाए पेनाल्टीमा चुक्दा डच टोली जितबाट वञ्चित बन्यो । यो बराबरीसँगै अपराजित रहेको नेदरल्यान्ड्स ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बेल्जियम ४ अंक जोडेर दोस्रो तथा वेल्स १ अंक जोडेर पुछारमा रहेको छ ।
यही समूहको अर्काे खेलमा वेल्स र बेल्जियमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बेल्जियमका युरी टिलेमान्सले गोल गर्दा वेल्सका ब्रेननान जोनसनले बराबरी गोल फर्काए ।