एजेन्सी – फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलिएन चुवामेनी रियल म्याड्रिडको इतिहाँसकै चौंथो महँगो खेलाडी भएका छन्। रियल र चुवामेनी बीच सम्झौता भएसँगै उनी रियलको इतिहाँसकै चौंथो महँगो खेलाडी भएका भएका हुन्।
चुवामेनीका लागि रियलले मोनाकोलाई ८० मिलियन युरो तिरेको बताइन्छ। साथै दुई क्लब बीच भएको सहमति अनुसार चुवामेनीले राम्रो गरेको खण्डमा रियलले थप बोनस पनि दिनेछ। रियलले अहिले सम्म ८० मिलियन युरो भन्दा बढी रकम तीन खेलाडीका लागि मात्रै खर्च गरेको छ।
रियलले चुवामेनीका भन्दा बढी रकम तिरेर भित्र्याएका खेलाडीहरुमा क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र एडेन हाजार्ड रहेका छन्। रियलले सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रोनाल्डोलाई भित्र्याएको थियो। त्यसबेला रियलले ९६ मिलियन युरो खर्च गरेको थियो।
त्यस्तै रियलले सन् २०१३ मा ग्यारेथ बेललाई टोटेनह्यामबाट भित्र्याएको थियो। त्यसबेला रियलले १ सय १ मिलियन युरो खर्च गरेको थियो। बेलपछि रियलले उच्च मूल्यमा एडेन हाजार्डलाई भित्र्याएको थियो। सन् २०१९ मा रियलले उनका लागि १ सय मिलियन युरो खर्च गरेको थियो।
रियलको ट्रान्सफर तथ्यांकलाई हेर्ने हो भने चुवामेनी जेम्स रोड्रीगेज, जिनेदिन जिदान, काका, फिगो जस्ता खेलाडी भन्दा पनि महँगा खेलाडी हुन्। चुवामेनी रियल म्याड्रिड इतिहाँसकै महँगो मिडफिल्डर पनि रहेका छन्।