एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डले दुई गोलसँगै एक असिस्ट दिएपछि नर्वेले युइएफए नेसन्स लिग बी ग्रुप ४ मा रोमाञ्चक जित निकालेको छ ।
घरेले मैदानमा नर्वेले स्वीडेनमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । ओस्लोमा आइतबार राति भएको खेलमा नर्वेको जितमा हालान्डले दुई तथा एलेक्सान्डर सोर्लाेथले एक गोल थपे । स्वीडेनका इमिल फोर्सवर्ग र भिक्टोर ग्योकेरेसले गोल फर्काए ।
खेलको १०औं मिनेटमा हालान्डको गोलबाट नर्वेले सुरुवाती अग्रता लिएको थियो । उनले फेडरिक आन्द्रे विजोरकानको पासमा गोल गर्न सफल भएका थिए । ५४औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
६२औं मिनेटमा इमिल फोर्सवर्गले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने संकेत दिए । ७७औं मिनेटमा एलेक्सान्डर सोर्लाेथले हालान्डको पासमा गोल गरेपछि नर्वे खेलमा ३–१ ले अघि बढ्यो ।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा भिक्टोरले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नर्वे विजयी हुन सफल भयो ।
स्वीडेनमाथिको जितसँगै अपराजित रहेको नर्वे ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्वीेडेन ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा स्लोभेनिया र सर्वियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सर्विया ७ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्लोभेनिया २ अंक जोडेर पुछारमा छ ।