भिख मागेर खान लाग्न थाल्यो अप्ठेरो, हिँड्न नसक्ने लक्ष्मी बनिन् आत्मनिर्भर !

काठमाडौँ – काठमाडौं लगनकी लक्ष्मी श्रेष्ठका दुवै खुट्टा नभएका होइनन् तर ती छोटा र नचल्ने अवस्थामा छन्। त्यसकारण उनी सबलांगले जसरी हिँडडुल गर्न सक्दिनन्। उनको यो जन्मजात समस्या हो। त्यसकारण उमेरअनुसार बामे सर्न र उभिएर हिँड्ने उनले सकिनन्।

उनले सानैदेखि खुट्टा नचल्दा कठोर समस्या भोग्नुपर्‍यो। लक्ष्मी अहिले २४ वर्षकी भइन्। अहिले युवा अवस्थाकी उनले जीविकाका लागि गरेको संघर्ष साँच्चै प्रेरणादायी छ। घस्रिएर हिँड्नुपर्ने उनी सबै काम आफैं गर्छिन्। कमजोर शारीरिक अवस्थाका बीचमा पनि आत्मनिर्भरताका लागि गरेको प्रयासले उनलाई ह्विलचेयर व्यापारी बनाएको छ। व्यापारबाट हुने आम्दानीका कारण उनले परनिर्भर भएर बाँच्नुपरेको छैन।

लगनमै जन्मेकी लक्ष्मीले सानैमा अभिभावक गुमाइन्। अपांगता भएका कारण उनका सहारा दाजुभाइ र दिदीबहिनी बने। घर नभएकाले उनीहरू सबै डेरामा बस्नुको विकल्प थिएन। पछि दिदीबहिनीको विवाह भयो। छुट्टै डेरा लिएर बस्न थालेका दाजुभाइ पनि उनीबाट टाढिए। उनलाई साथ दिने वृद्ध ठुला बुवाबाहेक कोही रहेनन्। तर मिर्गौला रोगका कारण एक मात्र सहारा ठुलो बुवाको पनि आठ महिनाअघि निधन भयो।

त्यसपछि लक्ष्मी नितान्त एक्लो बनिन्। एक्लिनुपर्दा उनी अलिकति चिन्तित त बनिन् तर विचलित भने भइनन्। हिम्मत जुटाएर काममा लागिरहिन्। अहिले उनी काठमाडौंको लगनमै डेरा लिएर बस्छिन्। कोठाको मासिक भाडा ४ हजार ५ सय तिर्नुपर्छ। कोठा भाडा र खानपिनका लागि आवश्यक खर्च उनी आफैं जुटाउँछिन्। सबैबाट एक्लिएपछि धरहराआसपासमा अरूसँग भिख मागेर लक्ष्मीले गुजारा चलाइन्। अलि बुझ्ने भएपछि उनलाई मागेर खान अप्ठेरो लाग्यो।

‘अलि ठुली र बुझ्ने भएपछि बाटामा बसेर माग्न लाज पो लाग्यो,’ उनले भनिन्। त्यही लाजले उनलाई कमाइ हुने केही न केही काम गर्न झक्झक्यो। त्यसपछि उनले धरहरा चोक हुँदै आउनेजानेलाई अपांगताको पर्वाह नगरी थचक्क भुइँमा बसी पानी, गुट्खा आदि बेच्न थालिन्। अहिलेसम्म उनले त्यही कामलाई निरन्तरता दिइरहेकी छन्।

त्यसबाट हुने हल्काफुल्का कमाइबाट उनलाई कोठा भाडा तिर्न र खाइखर्च टार्न केही हदसम्म सहायता पुगेको छ। बाटामा बसेर कठिनतापूर्वक व्यापार गर्नुपर्ने उनको कहालीलाग्दो अवस्था देखेर अलि उनलाई एक मनकारी सञ्चारकर्मीले ह्विलचियर दिए। त्यसपछि दिनभरि व्यापार गर्न र डेरा–चोक आउनजान सजिलो भएको श्रेष्ठ बताउँछिन्।

उनी सामान खरिदका लागि होलसेल जान सक्दिनन्। नजिकैको पसलबाट किनेर ल्याइने मिनरल वाटर, चुइगम र गुट्खा उनले बेच्ने सामग्री हुन्। खुद्रा पसलबाटै किनेका सामान बिक्री गर्नुपर्ने हुँदा अलिकति नाफा निकाल्न महँगोमा बेच्नुपर्ने बाध्यता उनलाई छ। महँगो पर्ने भएपछि उनको सामान फाट्टफुट्ट मात्र बिक्री हुन्छ।

‘मैले पानी ३० रूपैयाँमा बेच्नुपर्छ। कसैकसैले किन्न मान्दैनन्,’ उनले भनिन्, ‘होलसेलबाट ल्याउन सक्ने भए मैले त्यसो गर्नुपर्दैनथ्यो। ग्राहकलाई ठग्ने उद्देश्य भने पटक्कै होइन। बाध्यताले त्यसो गर्नुपरेको हो।’ पानी, चुइगम र गुट्खाबाहेक अरू सामानमा लगानी गर्न सकेको भए अलि कमाइ बढ्ने र राम्रोसँग गुजारा चल्ने आशा श्रेष्ठको छ। तर लगानीको अभावमा धेरै वर्षदेखि सीमित सामान बेचेर गुजारा चलाउनु उनको नियति बनेको छ।

-नागरिक दैनिकबाट

प्रकाशित : सोमबार, जेठ ३०, २०७९०९:५२

मेघ गर्जन, चटयाङसहित पानी पर्ने !