काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रघात गरेको आरोप लगाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नेक्रममा भट्टराईले अर्थमन्त्री शर्मा माथि राष्ट्रघातको आरोप लगाएका हुन्।
सोमबार बिहान सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएको थियो। सो सम्बन्धमा संसदको ध्यानकर्षण गराउँदै भट्टराईले शर्मा माथि राष्ट्रघातको आरोप मात्र लगाएनन् राजीनामा समेत मागे।
“बजेट निर्माणको हाम्रो एउटा प्रक्रिया छ। बजेट निर्माणको झन्डै एक महिनाअगाडिदेखि बजेट शाखामा र अर्थमन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइदैन। माननीय सदस्यहरुलाई पनि प्रवेश दिइदैन। त्यस्तो ठाउँमा यस्ता काम हुन्छन् भने यो राष्ट्रका नाममा खाएको सपथको पनि खिलाप हो। यो जनघात मात्रै होइन, राष्ट्रघात पनि हो।”,भट्टराईले भने।
भट्टराईले अर्थमन्त्रीको मात्र नभई प्रधानमन्त्रीको समेत जवाफ मागे। सो विषयमा भट्टराईले सत्तारुढ दलका नेताहरु र सिंगो संसद्को ध्यानाकर्षण गराए। बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए ।