“हालाण्ड लेम्बोर्गिनी र नुनेज ट्याक्सी हुन्, लेम्बोर्गिनी-ट्याक्सी बीच कहिल्यै तुलना हुन्छ?”

एजेन्सी – प्रिमियर लिगको नयाँ सिजन शुरु हुन अझै केहि महिना बाँकि छ। अहिले प्रिमियर लिगका क्लबहरु ट्रान्सफर मार्केटमा सक्रिय छन्। उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी भित्र्याउन क्लबहरु बीच होडबाजी चलिरहेको छ।

सन् २०२१-२२ को च्याम्पियन म्यानचेस्टर सिटी युरोपका धेरै ठूला क्लबहरुलाई चक्मा दिँदै युवा स्टार एर्लिङ हालाण्डलाई भित्र्याउन सफल रह्यो। १ वर्षीय हालाण्ड जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ६० मिलियन युरोमा ५ वर्षका लागि अनुबन्ध गरेको हो।

हालाण्ड माथि युरोपक धेरै क्लबका नजर थिए। बार्सिलोना, पेरिस सेन्ट जर्मेन(पिएसजी), रियल म्याड्रिड, चेल्सी जस्ता क्लबले भित्र्याउनको लागि निरन्तर प्रयास गरेपनि हालाण्डले भने सिटी रोजे। सिटीले हालाण्डलाई सार्वजनिक समेत गरिसकेको छ।

सिटीले हालाण्डलाई भित्र्याएपछि प्रतिद्वन्दी क्लब लिभरपुलले पनि एक युवा खेलाडीलाई भित्र्याएको छ। लिभरपुलले क्लबको कीर्तिमानी मुल्यमा उरुग्वेली युवा स्टार डार्विन नुनेजलाई भित्र्याएको हो। लिभरपुलले नुनेजका लागि ७५ मिलियन युरो तिरेको बताइन्छ। त्यस्तै लिभरपुल र बेन्फिका बीच भएको सहमति अनुसार लिभरपुलका रहेर नुनेजले उपाधि जितेको खण्डमा बेन्फिकाले थप बोनस पनि पाउनेछ।

लिभरपुलले प्राय खेलाडीहरुका लागि धेर खर्च गर्दैन। लिभरपुलको प्राथमिकता प्राय मध्यम मूल्य भएका खेलाडीहरुमा हुन्छ। तर लिभरपुलले नुनेजका लागि भने क्लब रेकर्ड नै ब्रेक गरेको छ। गएको केहि सिजन देखि लिभरपुल र सिटीले एक अर्कालाई टक्कर दिँदै आएको हुँदा यति बेला हालाण्डलाई टक्कर दिन लिभरपुलले नुनेज भित्र्याएको चर्चा चलिरहेको छ।

नुनेजका लागि लिभरपुलले खर्चको रेकर्ड नै ब्रेक गरेपछि सामाजिक संजालमा विभिन्न प्रकारका टिका-टिप्पणीहरु भइरहेका छन्। धेरैले नुनेजका लागि लिभरपुलले धेरै मूल्य हालेको टिप्पणी गरिरहेका छन्। त्यसमध्ये केहि हालाण्डको अगाडी नुनेज केहि पनि नरहेको टिप्पणी पनि गरिरहेका छन्।

“हालाण्डको अगाडी नुनेज केहि पनि होइनन्।”,एक सामाजिक संजाल प्रयोगकर्ता लेख्छन्। त्यस्तै अर्का एक लेख्छन्,”ट्याक्सी क्याब र लेम्बोर्गिनी बीच तुलना गर्नु नै बेकार हुन्छ। हालाण्ड लेम्बोर्गिनी हुन् भने नुनेज ट्याक्सी हुन्।” त्यस्तै अर्का एक लेख्छन्,”लिभरपुलले अनावश्यक खर्च गर्दैन भन्नेहरु कहाँ गए होलान्?”

प्रकाशित : सोमबार, जेठ ३०, २०७९१९:०६

क्रोएसियाले तोड्यो फ्रान्सको घमण्ड, घुँडा टेकायो !