एजेन्सी – लन्डन क्लब आर्सनलले ब्राजिली युवा फरवार्ड मार्किन्हसलाई क्लबमा अनुबन्ध गरेको छ । आर्सनलले १९ वर्षीय युवा प्रतिभा मार्किन्हसलाई ब्राजिली क्लब साओ पाउलोबाट अनुबन्ध गर्न सफल भएको हो ।
आर्सनलले उनलाई लामो समयको लागि सम्झौता गरेको छ । ब्राजिलको यू–१९ टोलीबाट खेलिसकेका मार्किन्हसले गत वर्ष जुलाईमा १८ वर्षको उमेरमा साओ पाउलोको पहिलो टोलीमा डेब्यु गरेका थिए ।
आर्सनलका प्राविधिक निर्देशक एडुले उनी अझै सानै रहेको र उनी भविष्यका लागि खेलाडी रहेको बताएका छन् । ‘मार्किन्हस एक खेलाडी थिए, जुन हामीले केहि समयदेखि हेरिरहेका थियौं,’ एडुले भने, ‘हामी उहाँलाई प्रि–सिजनको लागि टोलीमा राख्नेछौं । जसले उसलाई नया ठाँउमा घुलमिल हुन र आफ्नो क्षमता विकास गर्न तत्पर हुनेछ ।’
उनले साओपाउलोको लागि गत सिजन ४१ खेल खेल्दा चार गोल गरेका छन् । उनको उच्च प्रदर्शनमा साओ पाउलो रिजनल च्याम्पियन बन्न सफल भएको थियो ।