अष्ट्रेलिया बन्यो विश्वकपका लागि छनोट हुने ३१ औं देश !

एजेन्सी – दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरुलाई पराजित गर्दै एसियाली राष्ट्र अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ ।

कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरुलाई सडनडेथमा ५–४ ले पराजित गर्दै अष्ट्रेलिया २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट हुन सफल भएको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने । उनले सडनडेथको अन्तिम पेनाल्टी बचाए ।

टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गरे । अष्ट्रेलियाका मार्टिन बोएलको सुरुवाती पेनाल्टीमा गोल गर्न सकेनन् ।

पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्न सफल हुँदा लुइस इडभिनकुलाले गोल गर्न नसक्दा एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाएका थिए ।

त्यसअघि कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले निर्धारित र थप गरिएको अतिरिक्त समयमा केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

अष्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१औं टोली बनेको छ । अब कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछ । त्यसपछि विश्वकपमा छनोट हुने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ ।

विश्वकपमा छनोट हुन अष्ट्रेलियाले प्ले अफमा युनाइटेड अरब इमिरेट्सलाई पराजित गर्दै कन्टिनेन्टल प्ले अफमा पेरुसँगको भेट पक्का गरेको थियो । विश्वकपमा स्थान बनाएको अष्ट्रेलिया च्याम्पियन फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेको समूह ‘डी’ मा परेको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ३१, २०७९०८:१९

बार्सिलोनाले लखेट्ने भएपछि पिकेले जाभीलाई भने-‘म हरेक तरिकाले तिमीलाई मद्दत गर्छु नि’