जब काठमाडौंको अपमान गरेको सुन्दा मेयर बालेनलाई असह्य भयो …

हेटौंडा – काठमाडौंबासी ‘अपमानित भएको’ महसुस भएपछि काठमाडौंका मेयर बालेन साह वागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा आयोजित स्थानीय जनप्रतिनिधिमुखी अभिमुखीकरण कार्यक्रमलाई बीचमै छाडेर फर्किनुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरूका लागि नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी सोमबारदेखि शुरू भएको दुई दिने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन नै काठमाडौंबासीलाई गाली गरेको र फोहोर विसर्जनका विषयमा अनावश्यक लाञ्छना लगाइएको भन्दै उहाँले कार्यक्रमस्थल छाड्नुभएको हो ।

काठमाडौंको फोहोरको उचित विसर्जन नभएसम्म माला नलगाउने र विजयोत्सवसमेत नमनाउने उद्घोष गरेका वालेनले उक्त कार्यक्रममा आफूलाई काठमाडौं अपमानित भएको महसुस भएको बताउनुभयो । ‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो । तर, काठमाडौंसँग र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो’, उहाँले भन्नुभयो– ‘काठमाडौं केवल राजधानी मात्र होइन, वागमती प्रदेशका लागि त एउटा पालिका मात्र हो ।

तर, काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गर्ने तर मौका पाउँदा केही नगर्ने कार्यक्रमको औचित्य नदेखेर कार्यक्रम छाडेको हुँ । गाली र आलोचना सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरबासीको सुन्नेछु । वा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्नेछ ।’मेयर साहले सोमबार राति सामाजिक सञ्जालमा उक्त अभिमुखीकरण कार्यक्रमलाई ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ भएको आरोप लगाउँदै लेख्नुभएको थियो–‘वागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ मा सहभागी भएर धेरै खुसी लाग्यो । थ्यांक यु ।’

कार्यक्रममा सहभागी हुन हेटौंडा आएका बालेन उद्घाटन समारोहपछि कार्यक्रम छाडेर मानवसेवा आश्रम र हेटौंडा सामुदायिक आँखा अस्पताल पुग्नुभएको थियो ।कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले मन्तव्य राखेपछि मेयर शाह मन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट हुनुभएको हो । कार्यक्रमको शीर्षकभन्दा असम्बन्धित विषयमा छलफल केन्द्रित भएपछि उहाँ कार्यक्रम छाडेर हिँड्नुभएको थियो ।

प्रकाशित : बुधबार, असार ०१, २०७९०८:२६

नेपालमा आफ्नो सैनिक राख्ने दाउमा अमेरिका, शुरु भयो चलखेल !