जनकपुरधाम । विश्वभरिका हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरको अर्बौं रुपैयाँ मूल्यका गरगहना हराएको छ । मन्दिरको गरगहना हराउने डरले जानकी मन्दिरबाट तत्कालीन राजा महेन्द्रको आदेशमा २०२० सालमा जानकी मन्दिरका तत्कालीन महन्थ रामशरण दाससँग लगत हिसाब गरी मन्दिरका हिरा, मोती, बहुमूल्य पत्थर, सुन र चाँदी काठमाडांै लगिएको थियो ।
तर, अहिले आएर वर्तमान महन्थ रामतपेश्वर दासले मन्दिरको गरगहना जनकपुरवासीलाई दर्शन गराइदिनका माग गरेपछि गुठी संस्थानले जानकी मन्दिरको गरगहनाहरूको अत्तोपत्तो नरहेको बताएको छ । मन्दिरका महन्थ दासले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अर्बौं मूल्य बराबरका जानकी महारानीको गरगहनाको खोजविन गर्दा गुठी संस्थानले अरू मन्दिरको गरगहना सुरक्षित रहे पनि जानकी मन्दिरको गरगहना नभेटिएको जवाफ पाएको जानकारी दिएका छन् ।
०२० साउन १२ गते मन्दिरलाई कागज नै बनाएर तत्कालीन महन्थ रामशरण दासबाट लगिएको गरगहनामा सुनका ५६ किसिमका २ किलो २ सय ४० ग्राम गरहनाहरू रहेको छ । उक्त सुनका गहनाहरूमा हिरा, मोती र बहुमुल्य पत्थर जडित रहेको बताइएको छ । यसैगरी चाँदीका ७७ किसिमका विभिन्न किसिमका गरगहना २ किलो ८ सय ५० ग्राम रहेको बताइएको छ । चाँदीका गरगहनामा पनि हिरा, मोती र बहुमूल्य पत्थरहरू जडित रहेको छ । महन्थ दासका अनुसार गहनाहरूको जानकारी दिन पटकपटक ताकेतालगायत विभिन्न निकायमा धाउँदासमेत गहनाहरूको कुनै अतोपत्तो नरहेको जानकारी पाएपछि वाध्य भएर सर्वसाधारणको जानकारीका लागि पत्रकार सम्मेलन गर्नुपरेको बताए ।
उनले भने, ‘ती गहनाहरू जानकी महारानीको सम्पत्ति मात्र नरही राजा विक्रमदर्जीले दान÷बकस दिएको गरगहना मिथिलाको पनि धरोहर रहेकोले गरगहनाको यथाशीघ्र खोजी गरी जिम्मा लगाउन नेपाल सरकारसँग माग गर्दछौँ ।’ महन्थ दासले मन्दिरलाई विश्व सम्पदामा सूचीकृत हुन नदिनका लागि षड्यन्त्र भइरहेको बताउँदै मन्दिरमा विद्युतीकरणको नाममा जबरजस्ती किल्ला ठोकेर भित्ताहरूलाई समाप्त पार्ने खेल खेलिएको आरोप पनि लगाए ।
गरगहना हराएको प्रतिवेदन
सरकारद्वारा ०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार, जानकी मन्दिरको प्रशस्त जग्गा, जमिन र अन्य आयस्रोतसमेत रहे तापनि मन्दिरको अवस्था दयनीय छ । विगतमा मन्दिरको शोभाका रूपमा रहेको गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुरहरू गायब भएको तथा मन्दिरको स्थापनाका समयमा र त्यसपछि पनि भगवान् राम, लक्ष्मण र जानकी मातालाई चढाइएका बहुमूल्य आभूषण गहनासमेत गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं पु¥याइएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘ती बहुमूल्य गहना कहाँ र कुन अवस्थामा राखिएका छन् त्यसबारे व्यापक जनचासो रहे तापनि सन्तोषजनक जानकारी प्राप्त नभएको देखिन्छ । मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुंगाको कलात्मक सिंह जोडीको हीराजडित आँखा पनि निकालिएको भन्ने भनाइ रहेको छ । प्रतिवेदनमा मन्दिरका महन्तसँग गौलोचन, गजमणि, स्यालको सिङ रहेको तर, त्यसको कुनै अभिलेख नराखिएकाले व्यक्तिगत हुने बलियो सम्भावना व्यक्त गरिएको छ ।’
सौन्दर्यीकरणको नाममा करोडौँको लुट
जानकी मन्दिरका महन्थले जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाएका छन् । मधेस प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रमअन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यकरण र बृहत्तर क्षेत्र विकास परिषद्बाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार गरेको उनको आरोप छ ।
मन्दिर सौन्दर्यकरणमा मधेस सरकारले टाइल्स मार्बल, मर्मत लगायतको सौन्दर्यकरण लागि ७ करोड २० लाख रुपैयाँ छुट्याएको थियो । सौन्दर्यकरणको काम अन्तिम चरणमा छ । महन्थ दासले प्रदेश सरकारबाट जडान भएको टाइल्स मार्बल थुप्रै ठाउँमा फुटिसकेको र फुट्नेक्रम जारी रहेको बताउँदै कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार भएको आरोप लगाए ।
-सौर्य दैनिकबाट