पेरेज भन्छन् – ‘एक दिन भिनिसियसले बालोन डी’ओर जितेरै छाड्छन्’

एजेन्सी – रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले ब्राजिलियन विंगर भिनिसियस जुनियरको सम्झौता थपका विषयमा कुनै पनि समस्या नरहेको स्पष्ट पारेका छन्। एक अन्तर्वार्ताका क्रममा भिनिसियसको सम्झौता थप बारे प्रश्न गरिँदा पेरेजले त्यस विषयमा कुनै समस्या नरहेको बताएका हुन्।

भिनिसियसको सम्झौता थप गर्ने विषयमा छलफल भइरहेको पेरेजले बताए। त्यसक्रममा भिनिसियसले अन्य क्लबहरुबाट प्रस्ताव प्राप्त गरेको बताउन भने छुटाएनन्। अन्य क्लबहरुबाट प्रस्ताव आएपनि भिनिसियस रियलमा रहने पक्षमा रहेको पेरेजको भनाई छ।

“भिनिसियसको सम्झौता थपको विषयमा कुनै समस्या छैन। हामी बीच यस सम्बन्धमा छलफलहरु भइरहेका छन्। यस विषयमा न त हामीलाई समस्या छ, न त उनलाई नै।”,पेरेजले भने।

पेरेजले भिनिसियस रियल म्याड्रिडमा रहने कुरामा स्पष्ट रहेको पनि जानकारी गराए। अन्तर्वार्ताका क्रममा पेरेजले भिनिसियसले एक दिन बालोन डी’ओर जित्ने विश्वास पनि व्यक्त गरे।

उनले भने,”उनलाई अन्य क्लबहरुबाट समेत प्रस्तावहरु आइरहेका छन्। तर उनी रियलमा नै रहनेमा स्पष्ट छन्। म शतप्रतिशत छु कि रियलमा रहेर उनले एक दिन बालोन डी’ओर जित्नेछन्।”

गत सिजन रियल लालिगा र च्याम्पियन्स लिग च्याम्पियन्स बन्दा भिनिसियसले महत्वपूर्ण भूमिका खेलेका थिए। गत सिजन उनले रियलका लागि कुल ५२ खेल खेले। जसमा उनले २२ गोल गरे भने २० असिस्ट दिए।

उनले लालिगाका ३५ खेलमा १७ गोल गर्दा १३ असिस्ट दिएका थिए। त्यस्तै उनले च्याम्पियन्स लिगमा १३ खेल पनि खेले। जसमा उनले ४ गोल गर्दा ७ असिस्ट दिए।

प्रकाशित : बिहिबार, असार ०२, २०७९१२:०८

अर्जेन्टिनी स्टार भन्छन्-‘यो पटकको विश्वकप पनि फ्रान्सले जित्न सक्छ’