“रोनाल्डो नभएको भए युनाइटेडको यो हविगत हुँदैनथ्यो”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका धेरै समर्थकहरु क्रिस्टियानो रोनाल्डोको पुनरागमनले क्लबलाई मद्दत नगरेको विश्वास गर्छन्। त्यसमध्ये पनि धेरै रोनाल्डोको पुनरागमनले क्लबको प्रदर्शन झनै खस्किएको बताउने गर्छन्।

त्यस्तै समर्थकहरुमा पर्छन् बक्सिङ लिजेन्ड टायसन फ्युरी। फ्युरी रोनाल्डो युनाइटेडमा फिर्ता भएपछि क्लबका अन्य राम्रा खेलाडी उनको छायाँमा परेको र त्यसले क्लबको प्रदर्शनमा सिधा असर गरेको मान्छन्।

एक अन्तर्वार्ताका क्रममा फ्युरीले पूरा टीम रोनाल्डोको भर पर्दा समस्या पैदा भएको बताए। रोनाल्डो नभएको भए युनाइटेडका अन्य खेलाडीहरुले गोल गरिरहेका हुन्थे र त्यसले क्लबलाई राम्रो अवस्थामा उभ्याउँथ्यो भन्ने फ्युरीको बुझाई छ।

“जब रोनाल्डो जस्तो सुपरस्टार टीममा हुन्छन्, तब सबै खेलाडी उनको भर पर्छन्। यदि रोनाल्डो नभएको भए युनाइटेडका अन्य खेलाडीहरुले पनि गोल गर्थे। पछिल्लो सिजनलाई नै हेर्नुस् न रोनाल्डो नहुने कस्तो भएको थियो ? मैले रोनाल्डोलाई नराम्रो भन्न खोजेको होइन। रोनाल्डो पक्कै पनि ठूलो सम्पत्ति हुन्। तर कहिलेकाहीँ एक स्टार खेलाडीको छायाँमा अन्य खेलाडीहरु पर्छन् र त्यसले टीमलाई नै नकारात्मक प्रभाव पार्छ।”,फ्युरीले भने।

सन् २०२०-२१ को सिजनमा युनाइटेड प्रिमियर लिगको उपविजेता भएको थियो। त्यस सिजन युनाइटेडले प्रिमियर लिगमा ७३ गोल गरेको थियो। तर रोनाल्डो फिर्ता भएको सन् २०२१-२०२२ को सिजनमा युनाइटेडले ५७ गोल मात्र गर्न सक्यो। सन् २०२१-२२ को सिजनमा युनाइटेडले पछिल्लो सिजन भन्दा १६ कम गोल गर्यो।

त्यस्तै युनाइटेडले सन् २०२१-२२ को सिजनमा पछिल्लो सिजन भन्दा बढी गोल पनि बेहोर्यो। पछिल्लो सिजनमा मात्रै ४४ गोल बेहोरेको युनाइटेडले सन् २०२१-२२ को सिजनमा ५७ गोल बेहोरेको थियो।

प्रकाशित : शनिबार, असार ०४, २०७९१९:५३

समर ट्रान्सफर: बार्सिलोना टार्गेटमा को-को ? बाहिरियो सूची !