प्रधानमन्त्री पदका लागि लड्ने गगनको घोषणा !

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन्। एक टेलिभिजन कार्यक्रमका क्रममा थापाले आफू प्रधानमन्त्री बन्न योग्य रहेको बताएका हुन्।

कान्तिपुर टेलिभिजनको एक कार्यक्रमका क्रममा थापालाई तपाईँ आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ? भनेर प्रश्न गरियो। सो प्रश्नको जवाफ दिंदै थापाले अहिलेकै अवस्थामा आफू प्रधानमन्त्री बन्न योग रहेको बताए।

थापाले सोच्ने भन्दा पनि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताए। प्रधानमन्त्री बन्न सकिएपनि नसकिएपनि प्रयास भने गर्न नछुटाउने थापाको भनाई थियो। प्रधानमन्त्री पदका लागि योग्य हुनुहुन्छ भने प्रश्न गरिँदा उनले भने,”अफ कोर्स । सोच्ने मात्र होइन, यसपालि त प्रयास गर्ने हो । सकिन्छ सकिँदैन थाहा छैन, तर प्रयास अवश्य गर्छु।”

थापाले पहिला प्रधानमन्त्री भइसकेका नेताहरूलाई पुनः प्रधानमन्त्री बन्ने प्रयास नगर्न पनि आग्रह गरे। पहिला प्रधानमन्त्री भइसकेका नेताले नेपाललाई थप गुन लगाइदिनुपर्ने अवस्था नरहेको थापाले बताए।

“उहाँहरू सबैप्रति मेरो सम्मान छ । तर अबको चुनावपछि कुनै पनि पार्टीको कोही व्यक्ति फेरि प्रम भइदिएर नेपाललाई थप गुन लगाइदिनुपर्ने कारण छैन । अब हामीलाई मौका दिनुस् । हामी हाम्रो पुस्ताका साथीहरू बीच प्रतिस्पर्धा गर्छौँ । हामीले पनि केही अनुभव गरेर आइसक्यौँ । सक्यौँ भने डेलिभर गर्छौँ, नत्र हामीलाई हटाएर अर्को आउँछ ।”,थापाले भने।

प्रकाशित : आइतबार, असार ०५, २०७९१६:३४

रामचन्द्र पौडेलले भन्छन् – ‘देशलाई सफल बनाउने अभियानमा लागेको छु’