अन्ततः पुनर्गठन हुने भयो मन्त्रिपरिषद्, तयार भए देउवा !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपा एकीकृत समाजवादीले राखेको प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारूढ गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

त्यसअघि बैठकमा एकीकृत समाजवादीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने माग गरेको थियो । एकीकृत समाजवादीले वर्तमान सरकारमा रहेका आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त जिम्मेवारीमा नयाँ व्यक्तिलाई पठाउने निर्णय यसअघि नै गरिसकेको छ ।

उक्त पार्टीले फिर्ता बोलाउने मन्त्री र सरकारमा पठाउने नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई पनि बुझाइसकेको छ । तर, प्रधानमन्त्री देउवाले संसद्मा बजेटमाथिको छलफल जारी रहेको र सम्बन्धित मन्त्रीहरूले त्यसको जवाफ दिनुपर्ने कारण देखाउँदै मन्त्रिपरिषद् पुनर्गठनको निर्णय तत्कालका लागि थाति राख्ने सहमति गरेका थिए ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ गरेपछि आइतबारको बैठकमा एकीकृत समाजवादीले उक्त विषय पुनः उठाएको हो जानकारी पार्टीका शीर्ष नेता झलनाथ खनालले दिए । खनालले प्रधानमन्त्रीले पनि पुनर्गठनको प्रतिबद्धता जनाएको बताए ।

‘मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा हामीले आज कुरा राख्यौँ । त्यसबारेमा यसअघि नै हामीले निर्णय पनि गरिसकेका पनि छौँ, यसलाई तुरुन्तै कार्यान्वयन गर्नुस्, अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ बैठकपछि खनालले भने, ‘उहाँले पनि तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ, कार्यान्वयन गर्छु भन्नुभएको छ ।’

यसैगरी गठबन्धनको बैठकमा स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) बारेमा पनि छलफल भएको थियो । बैठकमा एसपिपीबारे सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । ‘हाम्रो पार्टी एसपिपीको पक्षमा छैन भनेर प्रस्ट भनेका छौँ,’ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौँ भन्ने प्रस्ताव आएको छ ।’ यस विषयमा प्रधानमन्त्री देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।

प्रकाशित : सोमबार, असार ०६, २०७९०८:४८

मन्त्री फेर्ने विषयले जसपामा भाँड-भैलो, तर उपेन्द्रको रणनीति भने छुट्टै !