बामदेवले फेरी शुरु गरे कम्युनिस्टहरुलाई मिलाउने अभियान !

काठमाडौं । पछिल्लो समय आफूलाई स्वतन्त्र दाबी गर्दै आएका बामपन्थी नेता बामदेव गौतमकले कम्युनिस्ट एकताका लागि आव्हान गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि उनी कुनै पनि पक्षमा लागेका थिएनन् ।

गौतमले कम्युनिस्टबीचको एकता अहिको आवश्यकता भएको बताएका छन् । उनले नेकपा एकता अभियानको राष्ट्रिय भेला पनि बोलाएका छन् । उनी तात्कालीन समयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचमा विवाद वढेर पार्टी विभाजनको तहमा पुगेका बेला पनि एकता अभियानको क्रममा सक्रिय बनेका थिए ।

त्यसबेला पनि उनी नेकपा एकता अभियानका लागि रष्ट्रिय भेला बोलाएका थिए । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कम्युनिस्ट पार्टीहरूबीचको विभाजनका कारण नकारात्मक परिणाम आएपछि गौतमले पुनः एकता अभियानको आव्हान गरेका हुन् ।

नेता गौतमले असार ११ गते बिहान ८ बजे ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा एकता अभियानको भेला बोलाएका हुन् । यसअघि गौतमले पहिलो एकता अभियानको भेला पनि सोही स्थानमा गरेका थिए ।

यद्यपि, एकता अभियानको भेला बोलाउनुअघि आफूले विभिन्न कम्युनिस्ट घटकका कुनकुन शीर्ष नेताहरूलाई भेटेको भन्ने विषयमा भने केही बताएका छैनन् । उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विभाजनपछि राजनीतिमा निस्क्रिय रहँदै आएका थिए ।

नेकपा एमालेबाट विभाजित भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी स्थापना हुँदा गौतम पनि त्यसमा जोडिने व्यापक चर्चा चलेको थियो । तर, अन्तिम समयमा आएर उनी एकीकृत समाजवादीमा पनि आबद्ध भएनन् ।

आफूले आव्हान गरेको नेकपा एकता भेलामा करिब एक सय जना नेताहरूको सहभागिता रहने जानकारी गौतमले दिएका छन् । पूर्वएमाले नेता गौतमलाई पूर्वमन्त्री हरि पराजुली लगायतले पनि साथ दिँदै आएका छन् ।

पार्टी विभाजन भएयता उनले पटकपटक कम्युनिस्ट एकताको विषय उठाउँदै आएका छन् । स्थानीय तह निर्वाचनको परिणामपछि उनी उनी आफ्नो अभियानमा अझ सक्रिय बनेको देखिन्छ । उनले केही दिनअघि राष्ट्रिय सभामा सम्बोधन गर्दै आफू फेरि कम्युनिस्ट एकता अभियानको तयारीमा रहेको बताएका थिए ।

-सौर्य दैनिकबाट

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९०९:१९

एमाले बिग्रँदा कांग्रेसलाई लाभ, देउवा मालामाल !