यी हुन् हालसम्म विश्वकप जित्ने मात्र ८ राष्ट्र, यो पटक निस्केला त नयाँ च्याम्पियन?

एसी वर्षको २१ बाट डिसेम्बर १८ सम्म कतारमा फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ। पहिलो पटक खाडी राष्ट्र कतारमा आयोजना हुन लागेको प्रतियोगिता अन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा एक समूहमा चार राष्ट्र गरेर ३२ राष्ट्रलाई विभाजन गरिएको छ।

खेलको तालिका समय पनि सार्वजनिक भइसकेको छ। प्रतिस्पर्धाका लागि छनोट हुने सबै ३२ टोली कै टुंगो लागिसकेको छ। लीग खेल प्रत्येक समूहका चारचार टोलीबीच एक-एक पटक प्रतिस्पर्धा हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्: जर्मनी, फ्रान्स, स्पेन, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, पोर्चुगल, पोल्यान्ड र वेल्स।

त्यस्तै, एशियाबाट दक्षिण कोरिया, इरान, जापान, अस्ट्रेलिया, साउदी अरब र कतार छनोट भएका छन्। अफ्रिकाबाट घाना, मोरक्को सेनिगल, ट्यूनिशिया, र क्यामरून सहभागी हुनेछन् भने दक्षिण अमेरिकाबाट ब्रजिल, आर्जेन्टिना, युरुग्वे र इक्वेडर रहेका छन्। उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिकाले यस विश्वकपमा सहभागिता जनाउने छन्।

सन् २०२२ मा हुने विश्वकपमा को विजेता बन्ला भन्ने सबैको चासोको विषय बनेको छ। सबैभन्दा चासोको विषय त यो बनेको छ कि यो पटक फुटबल जगतले नयाँ विश्व विजेता पाउनेछ वा यसअघि नै विजेता बनिसकेका राष्ट्रले नै यो पटक पनि बाजी मार्नेछन्। नवाविजेता बन्ने दाबेदार राष्ट्रको बारेमा कुरा गर्दा बेल्जियम, पोर्चुगल जस्ता बलिया राष्ट्रको कुरा आउँछ भने फ्रान्स, जर्मनी, स्पेन, ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड जस्ता पहिले नै विश्वकप विजेता बनिसकेका राष्ट्र पनि यस पटक उपाधिका दाबेदार रहेका छन्।

यस्तोमा आज हामी अहिलेसम्म विश्व विजेता बनिसकेका राष्ट्र बारे कुरा गर्न लागेका छौं। विश्वकप इतिहासमा सबैभन्दा सफल राष्ट्र ब्राजिल हो जसले ५ पटक विश्वकप उपाधि उचालेको छ। दक्षिण अमेरिकी पावर-हाउसले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विश्वकप उपाधि उचालेको थियो। त्यस्तै, युरोपेली राष्ट्र जर्मनी र इटालीले ४-४ पटक यो उपाधि जितेका छन्। जर्मनीले सन् १९५४, १९७४, १९९०, २०१४ मा र इटलीले सन् १९३४, १९३८, १९८२, २००६ को विश्वकप जितेको थियो।

त्यस्तै, साबिक कोपा अमेरिका च्याम्पियन आर्जेन्टिनाले दुई पटक सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो। फ्रान्सले पनि दुई पटक सन् १९९८ र २०१८ मा उपाधि जितेको थियो। उरुग्वेले दुई पटक सन् १९३० र १९५० मा विश्वकप जितेको थियो भने स्पेन एक पटक सन् २०१० र इंग्ल्याण्डले एक पटक सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो।

प्रकाशित : बुधबार, असार ०८, २०७९१६:५२

रोनाल्डोले स्पोर्टिङ लिस्बनलाई छिट्टै भेट्नेछु भनेर भिडियो पठाएपछि युनाइटेडमा गयो भूकम्प [भिडियो सहित]