“नागरिकता खुकुलो बनाएर देशलाई फिजी बनाउन खोजियो”

काठमाडौँ – प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी गंगा चौधरी सत्गौवाले नेपाललाई फिजी बनाउन नागरिकता खुकुलो बनाइएको आरोप लगाएकी छन्। बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाललाई फिजी बनाउन नागरिकता खुकुलो बनाइएको बताएकी हुन्।

प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको सामान्य छलफलमा भाग लिँदै चौधरीले वैवाहिक अंगीकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाउन नहुने बताइन्।

सरकारले राजनीतिक अभिष्ट पूरा पूरा गर्नको लागि सात वर्षे प्रावधान हटाएको आरोप लगाइन्। विदेशी चेलीले देशमाथि धावा बोलेको संसदमै देखेको कुरालाई छिटो भुल्न नहुने उनको भनाई छ।

“राजनीतिक अभिष्ट पूरा गर्न देशलाई फिजिकरण गर्न आज नागरिकतालाई खुकुलो पार्न खोजिएको छ। विदेशी चेली यो संसदभित्र हामीले तिनीहरुको हबिगत पनि देख्यौँ। देशमाथि धावा बोलेको कुरा पनि हेर्‍यौँ। तर त्यो कुरा हामीले यति चाँडै बिर्सिनुहुन्छ भन्ने कुरा मलाई लागेको थिएन। देश फिजीकरण नबनाऔँ।”,सत्गौवाले भनिन्।

वैवाहिक अंगीकृत नागरिकहरुलाई आउनेबित्तिकै नागरिकता दिँदा देशमा समस्या उत्पन्न हुने उनले बताइन्। वैवाहिक अंगीकृतबाट जन्मिएका छोराछोरीहरूलाई भने नागरिकताबाट वञ्चित गर्न नहुने उनको भनाई छ।

उनले भनिन्,”वैवाहिक अंगीकृतबाट जन्मिएका छोराछोरीहरूलाई नागरिकताबाट वञ्चित नगरौँ। संविधानको भाग २ धारा १० मा व्यवस्था गरेको छ, कुनैपनि नेपाली नागरिकहरुलाई नागरिकताबाट वञ्चित गरिने छैन भन्ने कुरा लेखिएको छ। त्यो प्रावधान रहँदा रहँदै वैवाहिक अंगीकृत नागरिकहरुलाई आउनेबित्तिकै नागरिकता दियौँ भने चिनियाँ १० हजार चेलीहरू आज नेपाली भाषा सिक्दैछन्। भोलिको दिनमा हाम्रो नागरिकता प्राप्त गरे भने, हाम्रो छोराहरूसँग विवाह गरेर आए भने, तिनीहरुलाई प्रत्यक्ष सदनभित्र छिर्न पाए भने तिनीहरुले हाम्रो देशको कानुन लेख्छन्? कि विदेशको कानुन बनाउँछन्? यो कुरा गम्भीरतापूर्वक सोच्नु जरुरी छ।”

प्रकाशित : बिहिबार, असार ३०, २०७९२०:४२

काठमाडौं क्षेत्र नम्बर ७ मा सुरुवातमै अगाडी लाग्यो रविको पार्टी !