स्टेचरमै भयो नवजात शिशुको जन्म !

काठमाडौँ – कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो ।

“गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो । एकहप्तादेखि स्वास्थ्यचौकी बन्द छ । उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ”, स्थानीय रामबहादुर बटालाले गुनासो गरे।

उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिएकी थिइन् । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिए।

“दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ”, उनले भने, “यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।”

उनले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएकोे भनाइ छ । “अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ”, उनले भने, “ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।”

प्रकाशित : मङ्गलबार, साउन ०३, २०७९१२:४५

आज कहाँ-कहाँ पर्ला पानी ?