आफू युरोपा लिग खेल्दा मेस्सीले च्याम्पियन्स लिग गोलमा भेट्टाउने रोनाल्डोलाई डर !

एजेन्सी – गत सिजन मात्रै प्रिमियर लिग फिर्ता भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने निर्णय गरिसकेका छन्। युनाइटेडले प्रिमियर लिगमा कम्जोर प्रदर्शन गरेसँगै रोनाल्डो क्लब परिवर्तनको निर्णयमा पुगेका हुन्।

गत सिजन रोनाल्डोले प्रयास गर्दा-गर्दै पनि युनाइटेड प्रिमियर लिगको शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुन सकेन। जसकारण रोनाल्डो यति बेला नयाँ क्लबको खोजीमा जुटिरहेका छन्।

गत सिजन युनाइटेडका लागि रोनाल्डोले नै उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् २०२१-२२ को सिजनमा रोनाल्डोले युनाइटेडका लागि कुल ३८ खेल खेले। जसमा उनले २४ गोल गरे भने ३ असिस्ट दिए। त्यसमध्ये ६ गोल रोनाल्डोले च्याम्पियन्स लिगमा गरेका थिए।

युनाइटेडको शिर्ष गोलकर्ता रहेका उनले प्रिमियर लिगमा १८ गोल गरेका थिए। युनाइटेडलाई रोनाल्डोले नै युरोपा लिगमा स्थान दिलाएका थिए। युनाइटेड शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुन नसकेपनि छैठौं हुँदै युरोपा लिगका लागि भने छनौट हुन सफल भएको थियो।

खबरका अनुसार, रोनाल्डो अझै पनि च्याम्पियन्स लिगमा रहन चाहन्छन्। च्याम्पियन्स लिगक शिर्षगोलकर्ता रहेका उनलाई एक सिजन पनि च्याम्पियन्स लिग खेल्न नपाए च्याम्पियन्स लिग गोलमा लियोनेल मेस्सीले भेट्टाउने डर रहेको बताइन्छ।

च्याम्पियन्स लिगमा रोनाल्डोले १ सय ४१ गोल गरेका छन्। उनलाई लियोनेल मेस्सीले १ सय २५ गोल सहित पछ्याइरहेका छन्। मेस्सी र रोनाल्डो बीच मात्रै १६ गोलको अन्तर छ। आउने सिजन रोनाल्डो युनाइटेडमा रहन्छन् र युरोपा लिग खेल्छन् भने मेस्सीले रोनाल्डोसँगको गोल अन्तरलाई पक्कै छोट्याउने छन्। यस्तो होस् भन्ने रोनाल्डो चाहँदैनन्। जसकारण उनलाई जसरी हुन्छ आउने सिजन च्याम्पियन्स लिग खेल्ने क्लबबाट खेल्नु छ।

प्रकाशित : शुक्रबार, साउन ०६, २०७९१२:२५