एसईईको नतिजा सार्वजनिक !

काठमाडौँ – कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको एसईईको नतिजा बुधबार सार्वजनिक गरेको हो।

बोर्डले मंगलबार नै नतिजा सार्वजनिक गर्ने भनिएपनि पूरा तयारी नपुगेपछि नतिजा मंगलबार सार्वजनिक भएको थिएन। मंगलबार दिउँसो परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डको बैठक डाकिएको थियो । तर, बैठक अघिल्लो परीक्षाको कार्यविधि र एक्सफेल विद्यार्थीको संख्याको निर्णय गरेर सकेको थियो ।

मंगलबार नतिजा सार्वजनिक गर्न नसकिएपनि बुधबार दिउँसो बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्यो। कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।

सो परीक्षामा देशभरबाट ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए। त्यसमध्ये २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र थिए।

एसइईको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिन्छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिको वेबसाइटबाट हेर्न सकिनेछ। त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्न अनुमति पाएका छन्।

प्रकाशित : बुधबार, साउन ११, २०७९१६:१२

करिब ६ घण्टा बोकेर ल्याउँदाल्याउँदै बाटोमै सुत्केरी !