जनमत पार्टी ‘किंग मेकर’, जसले सरकार बनाएर पनि जनमत पार्टी नै चाहिने !

जनकपुरधाम । मधेश प्रदेशमा प्रदेशसभाका लागि प्रत्यक्षतर्फको सम्पुर्ण नतिजा आइसकेको छ । प्रत्यक्षतर्फको नतिजा आएसँगै मधेश प्रदेशमा दुबै गठबन्धनमा आबद्ध दलहरुबीच सरकार बनाउने कसरत पनि सुरु भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

कसको नेतृत्वमा सरकार बन्ला भन्ने विषयमा जनस्तरमा समेत चर्चा र खोजखवर सुरु भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ सबै क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।

प्रत्यक्षतर्फको सबै क्षेत्रको नतिजा आउँदा सत्ता गठबन्धनमा आबद्ध दलहरुले २८ र एमाले नेतृत्वको गठबन्धनले २४ सिट जितेको छ । सत्ता गठबन्धनमा पाँच दल आबद्ध छन् । पाँच दलिय गठबन्धनका दलमध्ये नेपाली कांग्रेसले १३ सिट जितेको छ ।यसैगरी सत्ता गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सात, नेकपा माओवादी केन्द्रले चार र नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा चार सिट जितेका छन् । गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले धनुषामा तीन, सर्लाहीमा तीन, रौतहटमा तीन, पर्सामा तीन र सप्तरीमा एक सिट जितेको छ ।

यसैगरी लोसपाले महोतरीमा तीन तथा पर्सा, सर्लाही, सिरहा र बारामा एक÷एक सिट जितेको छ । माओवादी केन्द्रले महोतरी, सर्लाही, रौतहट र पर्सामा एक÷एक सिट जितेको छ । एकीकृत समाजवादीले भने सप्तरी, सिरहा, सर्लाही र रौतहटमा एक÷एक सिट जितेको हो ।

नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमा एमाले एक्लैले १५ सिट जितेको छ । जसपाले नौ स्थानमा जित हासिल गरेको छ । एमालेले सिरहामा तीन, धनुषामा चार, बारामा चार र महोत्तरीमा दुई सिट जितेको छ । एमालेले रौतहट र सप्तरीमा पनि एक÷एक सिट जितेको छ ।

जसपाले भने पर्सामा दुई, बारामा दुई तथा रौतहट, सर्लाही, सिरहा, धनुषा र महोत्तरीमा एक÷एक सिट जितेको छ । यी दुई गठबन्धनबाहेक जनमत पार्टीले पनि ६ स्थानमा जित हासिल गरेको छ । स्वतन्त्र उम्मेदवारले समेत ६ स्थान जितेका छन् ।जनमत पार्टीले सप्तरीमा चार र सिरहामा दुई सिट जितेको छ । स्वतन्त्र उम्मेदवारले भने पर्सा, बारा, महोतरी, रौतहट, सर्लाही र सप्तरीमा एक÷एक सिट जितेका छन् । समानुपातिकतर्फ हालसम्म ३ लाख ६५ हजार ७ सय ७३ मतसहित कांग्रेस पहिलो स्थानमा छ ।

यसैगरी ३ लाख ३२ हजार ६ सय ५५ मतसहित एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जनमत पार्टीले २ लाख ६९ हजार ९५, जसपाले २ लाख ६३ हजार ३ सय ८५, माओवादीले १ लाख ६८ हजार ८ सय, एकीकृत समाजवादीले १ लाख ३ हजार ३ सय ८५ र लोसपाले ९६ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पाटले क्रमशः १९ र १५ गरि कुल ३४ सिट जितेका थिए । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ गरेर स्पष्ट बहुमत थियो ।

यसअघिको निर्वाचनमा एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी पार्टीको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन । अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको छ ।

प्रकाशित : बिहिबार, मङि्सर १५, २०७९०८:०२

रेशमलाई फकाउन नेताहरुको जेलमा लाइन !