माओवादी र एकीकृत समाजवादी बीच छिट्टै एकता, गृहकार्य सुरु !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ । सत्ता समीकरणको जोडघटाउ मिलाउने गरी शक्ति सञ्चयको लागि एकीकृत समाजवादीसँग एकताको प्रक्रिया थल्न सकिने विषयमा चर्चा शुरू भएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

निर्वाचनको परिणाम हेर्दा प्रत्यक्षमा चौथो नम्बरमा आएको एकीकृत समाजवादीलाई समानुपातिकमा थ्रेसहोल्ड कटाउन मुस्किल परेको छ । राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक मत नआउँदा नेकपा एकीकृत समाजवादीका १० सांसद स्वतन्त्र हैसियतामा हुने भएकाले उनीहरूलाई पार्टीको ह्विपसमेत लाग्दैन ।

सरकार गठनका लागि यो परिणाम खतरापूर्ण देखिएकाले एकीकृत समाजवादीको थ्रेसहोल्ड कटोस् भन्नेमा सत्ता गठबन्नधका नेताहरूको सहानुभूति छ । यदी थ्रेस होल्ड नकटेको खण्डमा आफ्ना संसदहरूलाई संसदीय मर्यादामा राख्नका लागि पनि पार्टी आवश्यक हुने भएकाले माओवादीसँगको पार्टी एकता हुन सक्ने कुरालाई नेताहरूले नकार्न सकेका छैनन् ।

चुनावअघि नै दुई दलबीच एकता प्रक्रिया थाल्ने भनेर कार्यदल नै गठन गरिएको बताइए पनि आधिकारिक रूपमा कसरी जाने भन्ने छलफल शुरू नभएको बताउँदै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो– ‘राजनीतिमा विकल्पहरू खाली नै हुन्छन् । तर, अहिले नै आधिकारिक रूपमा कुनै निर्णय भइसकेको छैन । राजनीतिमा विकल्पहरू खोज्ने कुरा स्वाभाविक हो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताको लागि माधव नेपालसँग बुधबार प्रस्ताव राख्नुभएको माओवादी निकट स्रोतको भनाइ छ । नेकपा माओवादी केन्द्रका एक नेताले भने– ‘प्रस्ताव राख्नेबित्तिकै एकता नै भइहाल्ने भन्ने कुरा छैन । तर, कुराकानी सामान्य चलेकै छ । सच्चा कम्युनिस्टहरू एक ठाउँमा हुँदा देशले सकारात्मक बाटो पहिल्याउन सक्ने अवस्था हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’

मंंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि एमाले बाहेकका कम्युनिस्टहरूबीच एकता गर्ने विषयमा सामान्य छलफल चलेको प्रवक्ता खतिवडाले स्वीकार गर्नुभयो । उक्त विषयमा निर्णय गर्न अहिले नै हतार गर्न नहुने भन्दै एकीकृत समाजवादीकै कतिपय नेताहरूले असहमति जनाएको बुझिएको छ । पार्टी एकताको लागि माधव नेपालभन्दा प्रचण्ड बढी सक्रिय देखिनुभएको छ भने माधव नेपाल पनि सकारात्मक रहेको नेताहरूको भनाइले पुष्टि गर्छ ।

प्रकाशित : बिहिबार, मङि्सर १५, २०७९०८:४४

अन्ततः रवि लामिछानेले पाए ठूलो राहत, उम्मेदवार बन्ने बाटो खुल्यो !