काठमाडौँ – नेकपा एमालेकि नेतृ नविना लामाले नयाँ पार्टी गठन गर्ने प्रक्रियामा रहेका एमालेका पूर्व वरिष्ट नेता माधव कुमार नेपाल माथि प्रश्नै प्रश्न गरेकी छन्।
नेकपा एमालेबाट छुट्टिएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि सांसद समेत रहेकी लामाले माधव कुमार नेपाललाई सामाजिक संजाल मार्फत कयौं प्रश्न गरेकी हुन्।
माधव नेपालको कुन्ठा, द्वेषका आधारमा नेकपा एमाले फुटाइएको नेतृ लामाको आरोप छ। उनले प्रश्न गरेकी छन्,”तपाईहरुले कुन्ठा, द्वेषको भरमा कथित विधि पद्धतिको लेपन लगाएर गुटबन्दी गर्दै पार्टी फ़ुटाउनु यो कहाँको विधि? कहाँको पद्धती?”
माधव नेपालले १५ वर्ष एमालेको नेतृत्व गर्दा केपी शर्मा ओली पक्षधरलाई पेलेको कुरालाई पनि लामाले स्मरण गरेकी छन्। आफू अध्यक्ष हुँदा नेपालले आफ्नो गुटकालाई मात्र पक्षपोषण गरेको, आफ्ना नातागोता/छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गरेको लगायतका आरोप लामाले लगाएकी छन्।
लामाले फेसबुकमा माधव नेपाल प्रति लक्षित गर्दै यसो लेखेकी छन् –
सामाजिक संजालमा गौरवशाली जनताको प्रिय पार्टीको विभाजनमा केही मानिसहरु रमाएको देखेर केही लेख्न मन लाग्यो। आफुलाई जनताका मुक्तिदाता ठान्ने केहि विभिषणले बनाएका क. माधव कुमार नेपालको नेतृत्वले आज पार्टी विभाजन गरेर दर्ता प्रक्रिया जुन ढङ्गले अघि बढाएको छ, त्यो रवैयालाई कार्यकर्ता र पार्टीको शुभचिन्तक अनि आम ज़नताले कदापी छुट दिने छैनन्।
किनभने ५० बर्ष पार्टीमा अविछिन्न शासन गर्ने क. माधव नेपाल लगायत अरु कमरेडहरुलाई यो स्थानमा आइपुग्न हाम्रो पार्टीको कार्यकर्ता तथा शुभेच्छुकहरुले गरेको योगदान, भूमिका, त्याग र बलिदानको मुल्य क़सले र कसरी तिर्ने? वहाँहरुलाई के जवाफ दिने? तपाईहरुले कुन्ठा, द्वेषको भरमा कथित विधि पद्धतिको लेपन लगाएर गुटबन्दी गर्दै पार्टी फ़ुटाउनु यो कहाँको विधि? कहाँको पद्धती? क. माधव! तपाईले १५ बर्ष पार्टीको नेतृत्व गर्दा अहिलेको पार्टी अध्यक्ष केपी ओली र उहाँको लाईनलाई कस्तो अवस्थमा पुर्याउनु भयो?
पार्टीलाई लज्जास्पद हार सहित तेस्रो स्थानमा पुर्याउनु भयो। आफ्नो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोता/छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गर्नुभयो। अहिले आफु महाधिवेशनमा हारे पछि पनि ऐक मौकामा जस्केलाबाट छिरेर विधिको गित गाउँदै अध्यक्ष पदमै दावा गर्ने? यो कुन विधि र पद्धति हो कमरेड?
तपाई लोभी हो। पापी हो। चरम व्यक्तिवादी र अवसरवादी हो। गद्दार हो। ५ बर्ष जनताले दिएको विश्वासको स्थाई सरकारलाई धोका दिएर, छिन्न भिन्न पारेर हिजो राजा ज्ञानेन्द्रको पाँउमा भेटी चढाएझैं गरि आज देउवा पाउमा सत्ता सुम्पनु भयो। यो कुन विधि र पद्धति हो कमरेड? तपाईंको विधि र पद्धतिको कु-कृत्यलाई पार्टीका लाखौं कार्यकर्ता, शुभेच्छुक र जनताले कदापी माफी दिने छैनन्। तपाईलाई अलिकती पनि लज्जा र हिनता महसुस भएन? आफ्नो पार्टीको सरकार र पार्टीनै दनदनी बालेर त्यसैमा आगो तापेर कस्तो न्यानो महसुस भईरहेको छ कमरेड? चैनको निन्द्रा छ?
बरु पार्टी फ़ुटबाट जोगाउन क. भीम रावल, क. योगेश, क. गोकर्ण, क. घनेश्याम र क. सुरेन्द्र लगायत कमरेडहरुको भूमिका सम्मानजनक छ। उहाँहरुलाई जनताले सकारात्मक भुमिकाको लागी स्मरण गरिरहनेछ्न् र तपाईलाई सधैं धिक्कारी रहनेछन्। याद रहोस्।✊✊✊