एजेन्सी – ट्रान्सफर विन्डो बन्द हुने दिन नजिक हुँदै गर्दा क्रिस्टियानो रोनाल्डोको ट्रान्सफर पुनः चर्चामा छ। यस अगाडी पेरिस सेन्ट जर्मेन(पिएसजी) जाने भनेर चर्चा गरिएका रोनाल्डो अहिले म्यानचेस्टर सिटी जाने चर्चा छ।
गएको केहि दिन देखि रोनाल्डो म्यानचेस्टर सिटीसँग जोडिने सम्भावना बढेको खबर आइरहेका छन्। पछिल्लो खबरका अनुसार रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेस रोनाल्डोलाई म्यानचेस्टर सिटीमा ल्याण्ड गराउने तयारीमा रहेको अन्तराष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।
यस ट्रान्सफर विन्डोमा ह्यारी केन सिटीको मूख्य टार्गेट थिए। तर टोटेनहमसँग सहमति हुन नसक्दा केन किन्ने सिटीको योजना तत्कालका लागि असफल भएको छ। यससँगै सिटी अर्को खेलाडीको खोजिमा जुटिरहेको छ। जसमा सबै भन्दा पहिलो नाम रोनाल्डोको आएको छ। रोनाल्डोलाई सिटीमा ल्याण्ड गराउने विषयमा उनका एजेन्टले सिटीका अधिकारीहरुसँग छलफल समेत गरेको बताइन्छ।
विभिन्न खबरहरुका अनुसार जोर्गे मेन्डेस अहिले इटालीमा छन्। उनी छिट्टै नै ट्यूरिन जाने तयारीमा रहेका छन्। ट्यूरिन पुगेर उनले रोनाल्डोको ट्रान्सफरको विषयमा युभेन्टसका अधिकारीहरुसँग छलफल गर्नेछन्।
रोनाल्डोलाई बिक्री गर्ने सोचमा युभेन्टस
रोनाल्डो आफैंले खुलेर केहि नबताएपनि रोनाल्डो युभेन्टसमा खासै सन्तुष्ट नरहेको खबरहरु लगातार आइरहेका छन्। उता युभेन्टस पनि युभेन्टसबाट रोनाल्डोबाट छुटकारा पाउन खोजिरहेको बताइन्छ। रोनाल्डोको महँगो पारिश्रमिकले युभेन्टसलाई समस्यामा पारिरहेको छ।