बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ। सिद्धार्थ मात्र ४० वर्षका थिए। हाल उनको श-व कूपर अस्पतालमा रहेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार उनी औषधि खाएर हिजो राती सुतेका थिए तर बिहान उठेनन्। टिभी क्षेत्रका निकै प्रचलित नाम सिद्धार्थ शुक्ला सामाजिक सञ्जालमा निकै सक्रिय थिए।
सिद्धार्थको जन्म मुम्बईमा भएको थियो। मोडलिङ तथा अभिनयमा रुची नभएका सिद्धार्थ सानैबाट व्यापार गर्न चाहन्थे। उनी आफ्नो लुक्सका कारण मानिसहरुलाई आकर्षित गर्न् सफल हुन्थे। सन् २००४ मा आफ्नी आमाको आग्रहमा उनले पहिलो पटक मोडलिङ प्रतियोगितामा सहभागी भएका थिए। बिना कुनै पोर्टफोलियो प्रतियोगितामा पुगेका सोद्धर्थको लुक्सकै कारण उनलाई छानिएको थियो।
सिद्धार्थले आफ्नी आमाको आदेशमा अनिच्छुक रुपमा यस प्रतियोगितामा भाग लिएका थिए तर उनलाई थाहा थिएन कि यसै प्रतियोगिताले उनको भाग्य बदल्नेछ। सिद्धार्थ उक्त प्रतियोगिता जित्न सफल भए। जसपछि, सिद्धार्थ २००८ मा टर्कीमा आयोजित दुनिया कै सबैभन्दा ठूलो मोडलिङ शो मा सहभागी भएका थिए।
त्यसपछि उनले आफ्नो मोडलिङ यात्रालाई निरन्तरता दिए। पछि फेयरनेस क्रीमको व्यावसायिक विज्ञापनमा काम गरेपछि भने उनी सबैको नजरमा पर्न सफल भएका थिए। यो विज्ञापन पछि, उनले टिभी शो ‘बाबुल का आंगन छोटे ना’ मा मुख्य भूमिका पाए। जसपछि उनले कलर्स टेलिभिजन शो ‘बालिका वधु’ मा शिव को भूमिका पाए। यो सिरियलबाट सिद्धार्थले छुट्टै पहिचान बनाउन सफल भए।
रश्मी देशाईसँग कलर्स कै शो ‘दिल से दिल तक’ मा सिद्धार्थ र रश्मीको जोडीलाई खुब रुचाइयो। सन् २०१३ मा करण जोहर निर्णायक मण्डलमा भएको शो ‘झालक दिखला जा’ सहभागी भएका सिद्धार्थको लुक्सबाट प्रभावित भएर निर्देशक तथा निर्माता करणले आफ्नो फिल्म ‘हम्प्टी शर्मा की दुल्हनिया’ मा महत्वपूर्ण भूमिका अफर गरेका थिए।
‘बिग बोग १३’ बाट दर्शक माझ अझ प्रख्यात भएका उनी उक्त शो का विजेता पनि थिए। उक्त सिजनमा सिद्धार्थ र सेहनाज गिलको जोडी निकै प्रसिद्ध भएको थियो। सफलताको शिखरमा पुग्दै गरेको समयमा सिद्धार्थको निधनको खबरले पूरा टिभी जगतलाई धक्का लागेको छ।