काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् ।
कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ ।
अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन् ।
त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । यो गुट पनि १३औं महाधिवेशनपछि नै संस्थागत भएको हो । सिटौलासमेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए । त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् ।
देउवालाई निधिको चुनौती, समूहमै सहमति खोज्दै पौडेल
तर १३औं महाधिवेशन भएको पाँच वर्ष पूरा भएर १४औं महाधिवेशनमा होमिँदै गर्दा भने कांग्रेसभित्रको संस्थागत गुट नै फुटको सँघारमा पुगिसकेको छ । केही नेताहरूले भने धमाधम धार फेर्न थालिसकेका छन् ।
१४औं महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा नै सभापतिका आकांक्षी छन् । यस्तै, सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबेदारी राखिसकेका छन् । उनले हालको संस्थापनबाट देउवाविरुद्ध विद्रोह गरेर उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसकेका छन् ।
‘म सभापतिका लागि पूर्णरूपमा तयारीसहित अघि बढिसकेको छु, सबैसँग निरन्तर छलफलमा छु, सम्पर्कमा छु, जिल्लाका साथीहरूसँग पनि भेटघाट र संवाद भइरहेको छ,’ पार्टी सभापतिका लागि मैदानमा उत्रिएका निधिले राजधानीसँग भने ।
यस्तै, संस्थापनबाटै नेता गोपालमान श्रेष्ठ पनि सभापतिको आकांक्षी हुन् । तर, उनले अहिलेसम्म औपचारिक रूपमा मुख खोलेका छैनन् । निधि र श्रेष्ठ दुवै मैदानमा उत्रने हो भने देउवालाई चुनौती थपिन्छ ।
महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका शर्माले आफ्नो निकटता सभापति देउवासँग प्रस्ट रहेको तर महाधिवेशनका विषयमा भने आफूले उम्मेदवारी मात्रै घोषणा गरेको बताए ।