एजेन्सी – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि पूनरागमन जित निकालेको छ ।
लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले गोल गरेपछि युनाइटेडले २–१ को पूनरागमन जित निकालेको हो । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो । खेलको इन्ज्युरी समयमा गोलरक्षक डेविड डे हेयाले पेनाल्टी बचाएपछि युनाइटेड जित दर्ता गर्न सफल रहेको थियो ।
खेलको ३०औं मिनेटमा जारोड बोओनको पासमा सेड बेनरहमाको गोलबाट घरेलु टोलीले १–० को अग्रता लिएको थियो । तर वेस्ट ह्यामको त्यो अग्रता लामो समय टिकेन । ३५औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर सब्सिच्युट जेसे लिंगार्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को पूनरागमन जित दिलाए । ७३औं मिनेटमा पल पोग्वाको स्थानमा मैदान छिरेका लिंगार्डले नेमान्जा माटिचको पासमा गोल गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा वेस्ट ह्यामले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याउने मौका गुमाएपछि घरेलु टोली बराबरीबाट चुक्यो । लुक साले पेनाल्टी बक्समा एन्ड्रिए यार्माेलेन्कोको क्रसलाई हातले छोएपछि भिएआरको सहायतामा वेस्ट ह्यामले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गर्नकै लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नोबलको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड डे हेयाले बचाउँदै युनाइटेडलाई महत्वपुर्ण ३ अंक दिलाए ।
यो जितसँगै अपराजित रहेको म्यानचेस्टर युनाइटेडका ५ खेलबाट १३ अंक पुगेको छ । शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेपनि दोस्रो स्थानमा रहेको छ । पराजित वेस्टह्याम ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा ब्राइटनले घरेलु मैदानमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । ब्राइटनको जितमा निल मोउपे र ड्यानी वेलवेकले गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए ।