लियोनलाई हराउँदै पीएसजी अपराजित, मेस्सी अझै गोलबिहिन !

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार छैटौ जित दर्ता गर्दा लियोनलाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लियोनमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

पीएसजीको जितमा नेयमार र मोउरो इकार्डीले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । पार्क डेस प्रिन्सेस पेरिसमा भएको खेलको १७औं मिनेटमा लियोनल मेस्सी र केलियन एमबाप्पेको समन्वयमा बनेको मुभमा मेस्सीको प्रहारलाई लियोनका गोलरक्षक एन्थोनी लोपेसले बचाए ।

३२औं मिनेटमा नेयमारको पासलाई मेस्सीले सदुपयोग गर्न नसक्दा पीएसजी अग्रता लिनबाट चुक्यो । ३७औं मिनेटमा मेस्सीको फ्रिकिक पोस्टमा लाग्दै बाहिरिदा पीएसजीले अग्रता लिन सकेन । पहिलो हाफमा पीएसजीको दवाव झेलेको पाहुना टोली लियोनले ५४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट अग्रता लिन सफल भयो ।

उनले कार्ल टोको इकाम्वीको पासमा गोल गरेका थिए । ६६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पीएसजी खेलमा फर्कियो । पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिदा नेयमार चुकेनन् ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई पूनरागमन जित दिलाए । ८२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका इकार्डीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

यो जितपछि लगातार छैटौ खेलमा जित निकालेको पीएसजीको १८ अंक पुगेको छ । पीएसजीले एक खेल कम खेलेको मार्सेलाई ५ अंकले पछि पारिसकेको छ । पराजित लियोन ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८१०:३३

पीएसजीमा मेस्सीको दादागिरी: प्रशिक्षकसँग रिसाउँदै फन्किए [भिडियो सहित]