पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सीको तारिफ गर्दै बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी कप्तानले क्लबमा हुँदा टिमको हरेक कमजोरीलाई ढाकेको बताएका छन्। २१ वर्ष बार्सिलोनामा बिताएपछि ३४ वर्षीय स्ट्राइकर यसै सिजन मात्र फ्रेन्च क्लब पीएसजी प्रस्थान गरेका हुन्।
लालिगामा अपराजित रहेपनि क्याटालान क्लबले सिजनको सुरुवात राम्रो गर्न सकेको छैन। च्याम्पियन्स लिगको पहिलो खेलमा नै बार्यन म्युनिखसँग ३-० ले पराजित भएको बार्सिलोनाले लिगको ४ खेलमा २ जीत र २ बराबरीका साथ मात्र ८ अंक जोड्न सफल भएको छ। टेबलको आठौँ स्थानमा रहेको बार्सिलोनाले पछिल्लो खेलमा ग्रानाडासँग १-१ को बराबरी खेलेको थियो।
लगातार खराब प्रदर्शन गरिरहेको कारण आफ्नो पद नै खतरामा रहेको समयमा पूर्व डच प्रशिक्षकले पूर्व कप्तान मेस्सीले क्लबलाई लामो समयदेखि एक्लै सम्हालिरहेको बताएका छन्। मेस्सीसँग खेल्दा अन्य खेलाडी पनि राम्रा देखिने गरेको पनि उनले दाबी गरेका छन्। उनले भोटबल इन्टरनेशनललाई भने,”मेस्सी निकै खास खेलाडी थिए। उनले बार्सिलोनाको सबै कमजोरी ढाकेका थिए। पक्कै पनि उनको वरिपरी राम्रा खेलाडी थिए तर उनले हरेक खेलमा फरक सिर्जना गर्ने गर्थे। उनकै कारण सबै खेलाडी उत्कृष्ट देखिन्थे। यो आलोचना हैन। तर एक अवलोकन हो।”
खेलको हरेक खेलमा मेस्सी १० मा १० रहेको भन्दै उनले थपे,”मलाई थाहा थियो उनि कति उत्कृष्ट छन् भनेर, तर दैनिक नजिकबाट उनलाई देख्दा निकै आनन्द महशुस हुन्थ्यो। एक फुटबल खेलाडी सिकाउने कुरा भनेको: परिस्थितिहरु पहिचान गर्नु, दबाबमा बल रिसिभ गर्नु, बलको गति, फिनिसिङ हुन्। मेस्सी यी सबैमा सर्वश्रेष्ठ थिए।”