एजेन्सी – कोरोना महामारीका बीच सन् २०२०-२१को सिजन सकिएर फुटबलको नयाँ सिजन शुरु भैसकेको छ। सर्वाधिक चर्चा र चासोमा रहने युरोपका शिर्ष लिगहरु सुचारु भैसकेका छन्। सिजनको शुरुवातबाटै अग्रता लिने र लिगको शिर्ष स्थानमा रहने प्रतिष्पर्धामा क्लबहरु जुटिसकेका छन्।
सिजनको शुरुवात हुँदा खेलाडीहरु पनि आफूलाई उत्कृष्ट सावित गर्न तल्लिन भैसकेका छन्। तर, केहि खेलाडी भने लय समात्न संघर्षरत छन्। यहाँ आज हामी त्यस्तै खेलाडीहरु बारे चर्चा गर्दैछौँ। फर्ममा बाहिर रहेका विश्व स्तरीय खेलाडीहरु निम्न छन्।
एन्टोइन् ग्रिजम्यान
एट्लेटिको म्याड्रिडमा रहँदा तहल्का नै मच्चाएका एन्टोइन् ग्रिजम्यान अहिले अहिले पुनः एट्लेटिकोमै फर्किएका छन्। एट्लेटिको फर्किएपनि ग्रिजम्यान लयमा छैनन्। एट्लेटिकोका प्रशिक्षक सिमोनीले ग्रिजम्यानलाई उच्च प्राथमिकतामा राखेर मौका दिँदा पनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। नयाँ सिजन शुरु भएयता चार खेल खेलेपनि ग्रिजम्यानले खाता खोल्न सकेका छैनन्। त्यति मात्र नभई मैदानमा उनको उपस्थिति धेरै कम्जोर देखिन्छ।
जान ओब्लाक
गत सिजन उच्च फर्ममा रहेका ट्लेटिको म्याड्रिडका मुख्य गोलकिपर जान ओब्लाक नयाँ सिजन शुरु भएपछि फरक लयमा देखिएका छन्। उनी गए सिजन जस्तो उच्च लयामा छैनन्। गएको सिजन उनकै उत्कृष्ट प्रदर्शनले गर्दा ट्लेटिको म्याड्रिड लालिगा च्याम्पियन बन्न सफल भएको थियो। सिजनको ३८ खेल खेल्दा उनले मात्र २५ गोल खाएका थिए। तर, नयाँ सिजन शुरु भएपनि उनले ६ खेलमै ५ गोल खाइसकेका छन्।
ह्यारी केन
केनले गत सिजन प्रिमियर लिगमा गोल्डेन बुट जित्न सफल भएका थिए। टोटेनहम हटस्परका लागि उनले सबै प्रतियोगितामा कुल ३३ गोल गर्दै १७ असिस्ट दिएका थिए। त्यति मात्र होइन युरो कपमा पनि केनले उत्कृष्ट खेल प्रदर्शन देखाएका थिए। इंग्ल्याण्ड युरो कपको फाइनल सम्म पुग्दा केनले ४ गोल गरेका थिए। ट्रान्सफर विन्डो खुल्दा उनी म्यानचेस्टर सिटी जाने चर्चा पनि चल्यो। उनलाई भित्र्याउन सिटीले हदै सम्मको प्रयास गरेको थियो, जुन सफल हुन सकेन। टोटेनहममै अड्किएका उनी नयाँ सिजन शुरु भएपछि भने पहिलाको लयमा देखिएका छैनन्। ७ खेल खेल्दा उनले ३ गोल मात्र गरेका छन्।
लियोनेल मेस्सी
नयाँ सिजन शुरु हुनु भन्दा अगाडीको ट्रान्सफर विन्डो धेरै नै अप्रत्यासित रह्यो। धेरैले असम्भव सोचेको मेस्सीको बार्सिलोनाबाट बहिर्गमन भयो, मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी)पुगे। मेस्सी पिएसजी पुग्दा विश्वभर तरंग पैदा भएको थियो। किलियन एम्बाप्पे र नेयमारसंग मिलेर मेस्सीले तहल्का नै मच्चाउने धेरैले अनुमान गरेका थिए। तर मेस्सी पिएसजी पुग्दा पहिलाको जस्तो लयमा देखिएका छैनन्। मेस्सीलाई पिएसजीको नयाँ वातावरणमा भिज्न पनि गार्हो भैरहेको छ। त्यति मात्र होइन उनलाई खुट्टाले पनि साथ दिरहेको छैन। मेस्सीको खुट्टामा केहि समस्या देखिएको छ। गत सिजन लालिगाको शिर्ष गोलकर्ता रहेका उनले पिएसजीका लागि खाता खोल्न बाँकी नै छ।