एजेन्सी – बार्सिलोनाको अर्को खराब प्रदर्शन पछि जेरार्ड पिकेले सबै मिलेर काम गर्नुपर्ने बताएका छन्। लालिगा अन्तर्गत बिहिबार राति भएको खेलमा क्याडिज विरुद्धको खेलमा बार्सिलोना रोकिएपछि पिकेले वर्तमान अवस्थाबाट छुटकारा पाउन सबै मिलेर कम गर्नुको विकल्प नरहेको बताएका हुन्।
क्याडिज विरुद्धको खेल पछि मोभिस्टारसंग कुराकानी गर्दै पिके हालको अवस्थामा कि सबै मिलेर गुनासो गर्नुपर्ने, कि सबै मिलेर काम गर्नुपर्ने बताए। एक लयमा चलिरहेको क्लबमा विभिन्न परिवर्तन हुँदा समस्या आइपरेको पिकेको भनाई छ।
“हामी एक यस्तो परिस्थिति बाट गुज्रिरहेका छौं जसको हामीलाई बानी थिएन। यी उथलपुथल पूर्ण वर्ष रहे। क्लबमा धेरै परिवर्तन भए, प्रशिक्षक फेरिए, अध्यक्ष फेरिए। मानसिक शान्तिका लागि सबै एक भएर काम गर्नुको विकल्प छैन। “,पिकेले भने। अफ्ठेरो अवस्थामा सबै मिलेर काम गरेमात्र सबैका लागि सहज हुने उनको भनाई छ।
पिकेले थप भने,”सबैजना जित्न चाहन्छन्। हालको अवस्थाको सामना गर्ने धेरै तरिका छन्। कि सबै मिलेर गुनासो गर्नुपर्यो, कि सबै मिलेर काम गर्नुपर्यो। हामी खेलाडी काम गर्नका लागि छौँ।”
प्रशिक्षक रोनाल्ड कोम्यान र अध्यक्ष जोआन लापोर्टा बीच पछिल्लो समय चलिरहेको मनमुटाबको विषयमा पनि पिकेले केहि टिप्पणी गरे। आफूहरु कोम्यान र लापोर्टा दुवैको पक्षमा रहेको पिकेले बताए। आफूहरु दोस्रो र तेस्रो हुनका लागि बार्सिलोनामा नरहेको पिकेले स्पष्ट पारे।
“मैले बार्सिलोनाको जर्सी दोस्रो र तेस्रो हुनका लागि लगाएको होइन।”,पिके भन्दै गए,”म ट्रफीका लागि यहाँ छु, त्यसैको लागि प्रतिस्पर्धा गर्दैछु। तर कहिले काहिं यस्तो अवस्था पनि आउने रहेछ।”