च्याम्पियन्स लिगमा ९० मिनेटपछि सर्वाधिक धेरै विजयी गोल गर्ने सर्जियो अगुइरोको रेकर्डमा रोनाल्डोले बराबरी गरेका छन्। बुधबार राति स्पेनिस क्लब भिल्लारियल विरुद्ध गरेको विजयी गोलका साथ रोनाल्डोले पूर्व म्यानचेस्टर सिटी स्टारको रेकर्ड बराबरी गरेका हुन्।
खेलको इन्जुरी समयको पनि अन्तिम समयमा जेसे लिंगार्डसँग सुन्दर तरिकाले तालमेल गर्दै रेड डेभिलका लागि विजयी गोल गर्दै तीन अंक पक्का गरेका हुन्। खेलमा पछाडी परेको अवस्थामा युनाइटेडका एलेक्स टेलेसले बराबरी गोल गरेका थिए भने रोनाल्डोले विजयी गोल गर्दै च्याम्पियन्स लिगमा सिजनको पहिलो जीत निकालेका छन्।
अर्को दिन, अर्को रेकर्ड
बुधबारको खेलमा रोनाल्डोले दुई किर्तिमान बनाएका छन्। भिल्लरियलविरुद्धको खेलमा सहभागी भएसँगै रोनाल्डो च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बने। उनले च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका हुन्। रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म १ सय ७८ खेल खेलेका छन्।
सोहि खेलमा उनले च्याम्पियन्स लिग इतिहास मै ९० मिनेटपछि सबैभन्दा धेरै विजयी गोल गर्ने रेकर्ड पनि बराबरी गरे। रोनाल्डोले यससँगै तीन खेलमा ९० मिनेटपछि विजयी गोल गरेका छन्।
जीत बारे रोनाल्डोले के भने ?
बिटी स्पोर्टसँग बोल्दै रोनाल्डोले भने,”यो मेरो काम हो। निकै कठिन खेल थियो। भिल्लारियलले निकै राम्रो खेल्यो। कडा चुनौती दियो। हामीले केहि संघर्ष गर्नुपर्यो। हामीलाई यो खेल जित्नु नै पर्छ भन्ने सोच थियो।”