एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। शनिबार राति भएको खेलमा एभर्टनसँग बराबरीमा रोकिएसँगै युनाइटेड शिर्ष स्थानमा उक्लिनबाट बन्चित भएको हो।
ब्रुनो फर्नान्डेजको पासमा एन्टोनी मार्सियलले ४३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा एब्डोयुलाय डोकोउरेको पासमा टाउनसेन्डले बराबरी गोल गरेका थिए।
बलका राम्रो पकड बनाएपनि युनाइटेडका खेलाडीहरुले अवसरलाई गोलमा परिणत गर्न सकेनन्। एभर्टन विरुद्धको खेलमा युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्साएरले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएका थिए। उनको ठाउँमा एडिसन काभानीले अवसर पाएपनि उनले मैदानमा खासै राम्रो प्रदर्शन गर्न सकेनन्।
यसै बीच सोल्साएरले रोनाल्डोलाई विश्राम दिने आफ्नो निर्णय सहि भएको बताएका छन्। एभर्टनसँग बराबरीमा रोकिएपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा सोल्साएरले रोनाल्डोलाई विश्राम दिने आफ्नो निर्णय सहि भएको बताएका हुन्। पूरा सिजनभर आफूले टीममा सन्तुलन मिलाइराख्नुपर्ने भएका कारण रोनाल्डोलाई विश्राम दिने निर्णय सहि भएको उनको भनाई छ।
“सिजन लामो छ। म्यानेजर भएपछि अहिले देखि नै सहि निर्णय गरि लिँदै जानुपर्ने हुन्छ। टीममा सन्तुलन पनि त कायम गर्नुपर्यो। त्यसैले मेरा लागि उक्त निर्णय ठिक थियो।”,रोनाल्डोलाई विश्राम दिइएको बारे टिप्पणी गर्दै उनले भने।
एभर्टन विरुद्धको खेलमा आफूहरु हावी भएको दावी ओलेले गरे। आफूहरुले राम्रो खेलेको उल्लेख गर्दै उनले मात्र गोल गर्न मात्र चुकेको ओलेको भनाई छ।
“आज हामीले धेरै राम्रो खेल्यौं। पूरा खेलभर हामी हावी थियौं। यति हो कि हामीले गोल गर्न सकेनौं।”,ओलेले भने। एभर्टनसंग अंक बाँडेसँगै युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा कायम भएको छ।